काठमाडौं – भारतको राजधानी दिल्लीको पहाडगञ्जस्थित एक होटेलबाट उद्धार गरिएका युवतीहरूले महिला आयोगकी प्रमुख स्वाति जय हिन्दलाई पत्र लेखेर नेपाल फर्काउन निवेदन दिएका छन् ।
यो मानव तस्करीको मुद्दा नभएको प्रहरीले बताएको दिल्ली महिला आयोगको भनाइ छ । तर युवतीहरूबाट प्राप्त चिट्ठीले यो मानव तस्करीकै घटना भएको प्रस्ट पारेको आयोग जनाउँछ ।
एउटा पत्रमा लेखिएको छ, ‘म नेपाली हुँ र पहाडगञ्ज आएको २४ दिन भयो । मेरा पतिले अर्को बिहे गरेका छन् र चार वर्षकी छोरी पनि छ । म काम गर्न चाहन्थें । त्यसैले इराकमा बस्ने मेरी एक काकीले मलाई त्यहाँ कफी पिउने कप बनाउने
कारखानामा राम्रो तलबमा काम पाइन्छ भनिन् । उनले नै मलाई पहाडगञ्जको होटेलको ठेगाना दिइन् । यहाँ आइपुगेपछि काकीले दुईतीन दिनमा इराक बोलाइने भनिन् तर २४ दिन बितिसक्यो । होटेलमा हामीलाई सित्तैमा खान पिउन दिइन्थ्यो
तर बाहिर जान भने दिइँदैनथियो । एउटा एजेन्ट हामीलाई हेर्न दिनदिनै आउँथ्यो । मलाई न इराक पठाइएको छ न नेपाल फर्किन दिइएको छ ।’
एक अन्य युवतीले लेखिन्, ‘म नौजना जति युवतीहरू नेपालबाट पाँच दिनअघि यहाँ ल्याइएका हौं । सबैका एजेन्टहरू फरक फरक छन् ।’
अर्की महिलाले लेखिन्, ‘म अघिल्लो वर्ष इराक गएकी थिएँ । त्यहाँ केही समय एकजनाको घरमा सरसफाइ गरें र पछि फेरि दिल्ली ल्याइएँ । एजेन्टले मलाई नेपाल फर्किन दिएको छैन र तीन महिनादेखिको तलब पनि दिएको छैन । मेरा
पिताको मृत्यु भइसकेको छ र घरमा आमा र भाइको जिम्मेवारी पनि मैले नै उठाउनुपरेको छ ।’
दिल्ली महिला आयोग अध्यक्ष स्वातिले भनिन्, ‘अधिकांश युवतीहरू नेपालको भूकम्पप्रभावित क्षेत्रबाट आएका हुन् । धेरैले आफ्नो परिवारका सदस्य गुमाएका थिए र घर सम्हाल्नका लागि जागिरको खोजीमा थिए ।’