
काठमाडौं – स्विट्जरल्यान्डको ज्युरिखमा प्रहरीले कुकुरलाई जुत्ता लगाइदिन कुकुरधनीहरूलाई आह्वान गरेको छ ।
चर्को गर्मीका कारण प्रहरीले यो आह्वान गरेको हो ।
सरकारी च्यानल एसआरएफका अनुसार, ज्युरिख प्रहरीले मानिसहरूलाई जागरुक गराउँदै कुकुरको रक्षा यो गर्मी मौसममा कसरी गर्ने भनी सिकाएको हो ।
गर्मीका कारण जमीन तातेर कुकुरहरूलाई गाह्रो परेकाले उनीहरूको खुट्टा जोगाउन जुत्ता लगाइदिने आह्वान गरेको हो ।
युरोपभरि यस वर्ष गर्मीले कीर्तिमान बनाएको छ । त्यहाँ लू समेत चलेको छ । लूबाट बच्नका लागि सरकारले मानिसहरूलाई अनेकौं सेवा दिएको छ ।
जुलाईमा स्विट्जरल्यान्डको तापक्रम ३० डिग्री सेल्सियससम्म पुगेको थियो । त्यो त्यहाँको सर्वाधिक तापमान हो ।
स्विस इन्फो नामक वेबसाइटका अनुुुसार, देशका अनेकौं भागमा खडेरी परेको छ ।
ज्युरिख प्रहरीका प्रवक्ता माइकल वाकरका अनुसार, ३० डिग्री तापक्रमको अनुभव भुइँमा ५० डिग्री जस्तै छ र यसले कुकुरहरूलाई समस्या पार्न सक्छ ।
उनले भने, ‘तातो भुइँमा हिँड्दा कुकुरहरूको खुट्टा पोल्छ, मान्छेको जस्तै ।’
ज्युरिख प्रहरीले मानिसहरूलाई कुकुरलाई सँगै लानुअघि भुइँको तापमान पत्ता लगाउन भनेको छ । त्यसका लागि आफ्नो हत्केला भुइँमा पाँच सेकेन्ड राख्न भनिएको छ ।
बीबीसीबाट