
काठमाडौँ– स्वास्थय राज्यमन्त्रीबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा बढुवा भएकी पद्यमा कुमारी अर्यालले आज पदभार ग्रहण गरेकी छिन् । उनी आजै मन्त्रीमा बढुवा भएकी थिइन् ।
पदभार ग्रहण गरेपछि उनले भूमिसँग जोडिएका समस्या समाधानका लागि कानून बनाएर विशेष पहल गर्ने र त्यसका लागि सबैको साथ सहयोग जरुरी रहेको बताइन् ।
मन्त्री अर्यालले अर्थतन्त्रको प्रमुख आधारका रुपमा रहेको सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै सहकारीमा छरिएर रहेको पूँजीलाई एकीकृतरुपमा परिचालन गर्ने बताइन् ।
गरिबी निवारणका लागिसमेत सहकारीको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै उनले भनिन् “गरिबी निवारणको प्रमुख आधारका रुपमा सहकारी क्षेत्रलाई परिचालन गर्ने र व्यवस्थित गर्ने योजनामा हामी लाग्छौँ, अर्थतन्त्रको प्रमुख आधारसमेत रहेकाले यस क्षेत्रलाई बढी महत्वसमेत दिन्छाँै ।”
मन्त्री अर्यालले वर्तमान सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को संकल्प पूरा गर्ने दिशामा नै केन्द्रित हुने बताइनु ,
मन्त्री अर्याललाई सचिव गोपीनाथ मैनालीलगायत मन्त्रालयका कर्मचारीले स्वागत गर्दै सफल कार्यकालको कामना गरेका थिए ।