
काठमाडौं–संसदीय सुनुवाइ विशेष समितिले अस्वीकार गर्ने क्रममा मानेका आधार र कारणलाई खोतल्ने हो भने सर्वोच्च अदालतको न्यायाधीशका रूपमा दीपकराज जोशीको पदीय वैधतासमेत संकटमा गरेको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई सर्वोच्च अदालतको न्यायाधीश हुनसमेत योग्य नहुने गरी अस्वीकार गरेको छ । समितिले अस्वीकृत गर्न कारण र आधारसहित दिएका विषयवस्तुले न्यायाधीश रहिरहन उनको आधारभूत मापदण्डसमेत नपुग्ने ठहर्याएको छ ।
समितिले चार आधार र कारणसहित जोशीलाई अस्वीकृत गरेको छ । पाँचौं बुँदामा भने उनी अस्वीकृत भएको ठहर गरिएको छ । चारमध्ये तीन विषयवस्तु न्यायाधीशका लागि समेत आवश्यक पर्ने आधारभूत चरित्रमा पर्ने भएकाले उनी अब कसरी न्यायाधीशमा कायम रहन्छन् भन्ने प्रश्न खडा भएको छ । राजीनामा दिएमा वा संसद्मा महाअभियोग लागेको अवस्थामा बाहेक जोशी अर्को प्रधानन्यायाधीश सिफारिस नहुन्जेल कामु प्रधानन्यायाधीश हुनेछन् ।