०८ साउन २०८३, शुक्रबार

नारायणगढ-­मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ-­मुग्लिन सडक एकतर्फी सञ्चालन

रत्ननगर – चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड ४ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान ६ बजे खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक साढे १० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो । अहिले रोकिएका गाडीलाई गन्तव्यतर्फ पठाउन थालिएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए ।

उनका अनुसार पहिरो खसेको स्थानमा अहिले पनि ढुंगा खस्ने क्रम भने जारी नै छ । लोडरको सहायताले पहिरो पन्छाएर गाडी दुईतर्फी बनाउने प्रयास जारी रहेको गौतमले जानकारी दिए । राति परेको वर्षाका कारण यहाँ पहिरो खसेको हो ।

पहिरो खसेपछि प्रहरीले काठमाडौंबाट आउने गाडीलाई मुग्लिनमा र चितवनबाट जाने गाडीलाई सिमलतालमा रोकेको थियो । सो क्षेत्रमा गाडीको लामो लाइन छ । एकतर्फी सडक खुलेपछि बीचमा अड्किएका गाडीलाई भने गन्तव्यमा पठाउन थालिएको छ । 

नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो जाने क्रम जारी छ भने पछिल्लो १ हप्तादेखि ढुंगा खस्ने क्रमसमेत बढेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्