०१ असार २०८३, सोमबार

मुख्य समाचार : जोशीको १५ दिन बिदा स्वीकृत-प्रमाणपत्र छानविन गर्न चुनौती, मोदी फेरि नेपाल आउँदै

मुख्य समाचार : जोशीको १५ दिन बिदा स्वीकृत-प्रमाणपत्र छानविन गर्न चुनौती, मोदी फेरि नेपाल आउँदै

काठमाडौं– सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी बिदामा बस्ने भएपछि वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले दैनिक पेसी तोक्ने भएका छन् । संसदीय सुनुवाइ विशेष समितिको बैठकबाट दुईतिहाई बहुमतले अस्वीकृत भएका कायममुकायम प्रधानन्यायाधीश जोशी आइतवारदेखि १५ दिने बिदामा बस्ने भएपछि मिश्रले सर्वोच्चको दैनिक पेसी तोक्ने भएका हुन् ।

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपनि जोशी कायममुकायम प्रधानन्याधीशको हैसियतममा रहने छन् । आफूनिकट कानुन व्यवसायीसँगको परामर्श र संसद्को मुड विचार गरेर जोशीले पेसी तोक्ने निर्णय बदल्दै १५ दिन बिदामा बस्न राष्ट्रपति विद्या भण्डारीसँग शनिबार साँझ समय मागेका छन् ।

संवैधानिक निकायका प्रमुखहरू बिदामा बस्नुअघि राष्ट्रपतिलाई जानकारी गराउने चलनअनुसार उनी शनिबार साँझ शीतलनिवास पुगेका थिए । 

सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश जोशीले आफ्नो शैक्षिक प्रमाणपत्रमाथि छानविन गर्न सरकारलाई आग्रह गरेका छन् । शनिबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– ‘मैले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरी न्यायालयलाई विस्तारै कमजोर बनाइँदै लगिएको बुझेको छु । आफ्नो अभीष्ट पूरा गर्न केही तत्वहरु सक्रिय भएर लागे ।’

विज्ञप्तिमा थप भनिएको छ– ‘सम्मानित संसदीय सुनुवाइ समितिमा संविधानबमोजिम सुनुवाइ भई सार्वजनिक सञ्चारमाध्यममा मेरो विषयमा सम्प्रेषित समाचारका आधार, आशंका र भ्रमका आधारमा तथ्यगत निष्कर्षविना नै निर्णय भएको विषयमा आफ्नो गम्भीर सरोकार रहेको छ ।’

न्यायालयको स्वच्छता निस्तेज नगरौं : काँग्रेस
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले न्यायालयको स्वच्छता, निष्पक्षता र प्रभावकारितालाई निस्तेज तुल्याउने काम नगर्न सुझाव दिएको छ । नेपाली काँग्रेस संघीय संसदीय दलको शनिबार बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृतको विषय व्यक्तिको नभई न्यायालयमाथिको प्रहार भएको निष्कर्ष निकालेको जनाएको छ ।

प्रधानमन्त्री स्वयंबाट प्रस्तावित प्रधानन्यायाधीशको नाम विधिपूर्वक योग्यताका आधारमा संसदीय सुनुवाइका लागि पठाएकामा प्रधानमन्त्रीकै पार्टीको ह्विपले त्यो निर्णय उल्टाइएको आरोप लगाउँदै काँग्रेसले यसबाट न्यायालयको निष्पक्षता र स्वतन्त्रतालाई बढ्ता नै प्रभाव पार्ने काम भएको टिप्पणी गरेको हो ।

बैठकपछि संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रतिपक्षले राखेका तर्क र आधारलाई अस्वीकार गर्दै सुनुवाइ समितिबाट भएको निर्णय व्यक्तिको अस्वीकृत मात्र नभइ संस्थामाथिको प्रहार भएको आरोप लगाए । 

छब्बीस तुइन विस्थापन हुन बाँकी
सरकारले विभिन्न नदी र खोल्सामाथि आवागमनका लागि बनाइएका तुइन विस्थापनका लागि अभियान शुरु गरेका तीन वर्ष बिते पनि अझै २६ वटा तुइन सञ्चालनमै छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक प्रधानमन्त्री पदमा बहाली गर्दा विसं २०७२ असोज २५ मा दुुई वर्षभित्र तुइन विस्थापन हुने गरी मन्त्रिपरिषद्बाट निर्णय गराई सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो । १३१ तुइनमध्ये हालसम्म १०५ वटा विस्थापन भई झोलुङ्गे पुल निर्माणको प्रक्रिया शुरु भएकोे छ । 

डुबेर तीन विद्यार्थी बेपत्ता
सोलुखुम्बुको गोक्यो हिमतालमा डुबेर तीनजना विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खुम्जुङ माविमा अध्ययनरत पेम्बा नुरी शेर्पा, सुनिल बराइली र पेम्बा दोर्जे शेर्पा रहेका छन् । शैक्षिक भ्रमणमा गएका विद्याथीहरु शिक्षकको आँखा छलेर गोक्यो हिमतालमा नुहाउन गएका थिए । 

यसैगरी, लमजुङको बेशीशहर ६ लमजुङ डाँडामा रहेको मस्र्याङ्दी नदिले बगाउँदा २ जना बेपत्ता भएका छन् । मस्र्याङ्दी नदिको ड्याममा पौडी खेल्ने क्रममा उनिहरु बेपत्ता भएका हुन् । बेपत्ता भएका मध्ये १५ बर्षिया प्रतिक रिमालको नेपाली सेना र स्थानियले उद्धार गरेका छन् । १५ वर्षिय अजिव थापा र  १५ वर्षकै योगेन्द्र रिमाल बेपक्ता छन् । 

मोदी फेरि नेपाल आउँदै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् । उनी भदौ १४ र १५ गते काठमाडौंमा हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका हुन् । चौथो पटक हुने उक्त भ्रमण दुई दिने हुने जनाइएको छ ।

नेपाल भ्रमणका क्रममा उनले  लुम्बनी र पोखराको समेत भ्रमण गर्ने बताइएको छ भने त्यसका लागि सरकारले आन्तरिक रुपमा तयारी थालेको छ । 

कार्यालय प्रमुखसहित चार जना पक्राउ 
तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका यातायात व्यवस्था कार्यालय लहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहालसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

शनिबार बिदाको दिन घुम्न आएका दाहालसहित कार्यालयका कर्मचारी विजय दाहाल, लेखराज कटुवाल र देवान मण्डललाई वसन्तपुर बजारको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए । 

उनीहरु चारै जनाले आपसमा झगडा गरेको र सार्वजनिक स्थानमा अपशब्द बोलेको प्रहरीले जनाएको छ । उनीहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालयका दुई वटा कुर्सीसमेत भाँचिदिएका छन् । 

घरेलु फूटबलको माहोल सिर्जना गर्न रेलिगेसनबिनाको ‘ए’ डिभिजन लिग
अखिल नेपाल फूटबल संघ (एन्फा)ले चार वर्षदेखि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन राष्ट्रिय लिग फूटबल प्रतियोगिता आगामी असोजदेखि गर्ने भएको छ ।     पूर्वराष्ट्रिय खेलाडी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा रहेको लिग कमिटिले ‘ए’ डिभिजन लिगको मिति तय गरेको हो ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नियमित ‘रेलिगेसनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपाली फूटबलको माहोल ल्याउन रेलिगेसनबिनाको लिग गर्न लागेको बताए ।

ओलम्पिकका लागि महिला फूटबल छनोट तालिका सार्वजनिक
सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकूदअन्तर्गत महिला फूटबलको छनोट तालिका सार्वजनिक गरिएको छ । पहिलो चरणको छनोटमा नेपाल समूह ‘सी’ मा परेको छ ।

नेपालसँगै भारत, बंगलादेश र म्यानमार पनि समूह ‘सी’ मा रहेका छन् । नेपालले पहिलो खेल भारतसँग आगामी ८ नोभेम्बरमा खेल्नेछ । यस्तै ११ नोभेम्बरमा म्यानमार र १३ नोभेम्बरमा बंगलादेशसँग खेल्नेछ । खेलस्थान भने टुंगो लागेको छैन । एसियाको पहिलो चरणको छनोटमा नेपालसहित १८ देशले भाग लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्