
काठमाडौँ- अखिल नेपाल फूटबल संघ (एन्फा)ले चार वर्षदेखि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन राष्ट्रिय लिग फूटबल प्रतियोगिता आगामी असोजदेखि गर्ने भएको छ । पूर्वराष्ट्रिय खेलाडी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा रहेको लिग कमिटिले ‘ए’ डिभिजन लिगको मिति तय गरेको हो ।
गत वैशाख २२ गते एन्फा निर्वाचनबाट कर्माछिरिङ शेर्पा प्यानल नै विजयी भएपछि उक्त समूहले राष्ट्रिय लिग गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसैअनुरुप एन्फाले लिग सञ्चालनका लागि पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक शर्माको संयोजकत्वमा समिति गठन गर्यो । समितिले क्लबसँग विभिन्न चरणमा गरेको छलफलपछि लिग शुरु हुने मिति समेत तय गरेको हो ।
‘ए’ डिभिजनका १४ क्लबले सहभागिता जनाउने लिग ‘रेलिगेसन’ बिनाको हुनेछ । असोज १३ देखि माघ १६ सम्म हुने लिगमा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी, थ्रीस्टार, जावलाखेल, फ्रेन्ड्स, संकटा, मछिन्द्र, सरस्वती, च्यासल, एनआरटी, ब्रिगेड ब्वाइज, हिमालयन शेर्पा, विभागीय टोली त्रिभुवन आर्मी, पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । खेलाडी दर्ता आगामी १५ भदौबाट शुरु हुनेछ ।
‘रेलिगेसनबिना’को लिग
एन्फा अध्यक्ष शेर्पाले नियमित ‘रेलिगेसनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपाली फूटबलको माहोल ल्याउन रेलिगेसनबिनाको लिग गर्न लागेको बताउनुभयो । चार वर्षदेखि ‘मोफसल’का खेलले नेपाली फूटबल धानेको बताउँदै उहाँले समय अभाव र क्लब मानसिकरूपमा तयार नभएका कारण यसपाली यस्तो निर्णय लिन बाध्य भएको दाबी गर्नुभयो ।
“नियमित रेलिगेसनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपाली फूटबलको माहोल ल्याउन रेलिगेसनबिनाको लिग गर्न लागेका हौँ”, उहाँको भनाइ छ ।
संयोजक शर्माले रेलिगेशन नहुँदैमा योे वर्ष केही फरक नपर्ने बताउँदै अर्को वर्षदेखि नियमित ‘रेलिगेसन’सहितको लिग गर्ने बताउनुभयो । “हामीले तीन वर्षको योजना बनाएको छौँ, यस वर्ष फूटबलको माहोल सिर्जना गर्न ‘ननरेलिगेसन’ लिग गर्न लागेका हौँ, फूटबलको आत्मा मर्न दिने छैन”, उहाँले भन्नुभयो ।
एसियाली फूटलब संघ (एफसी) र विश्व फूटबलको सर्वोच्च निकाय (फिफा)ले पनि नेपालमा फूटबलको माहोल सिर्जना गर्न ‘ननरेलिगेन’ लिग गर्न अनुमति दिएको छ ।
पछिल्लोपटक विसं २०७० मा आयोजित ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले उपाधि जितेको थियो । यसैबीच एन्फाले साउन १ बाट लिग आयोजनाका लागि सञ्जीव मिश्रलाई लिग निर्देशकमा नियुक्त गरेको छ ।