१५ असार २०८३, सोमबार

असई थमन बिक हत्या प्रकरण : ‘फरार’ राज्यमन्त्री पक्राउ गर्न प्रहरी परिचालन

साउन २०, २०७५
असई थमन बिक हत्या प्रकरण : ‘फरार’ राज्यमन्त्री पक्राउ गर्न प्रहरी परिचालन

जनकपुरधाम–  प्रहरीको सूचीमा फरार अभियुक्त रहेका प्रदेश २ सरकारका राज्यमन्त्री अभिराम शर्मा लगायतकालाई पक्राउ गर्न प्रहरी परिचालन भएको छ । 

सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) थमन बिकको हत्याका फरार प्रतिवादीलाई अविलम्ब पक्राउ गैर्न उच्च अदालत जनकपुरले परमादेश जारी गरेको पत्र शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पत्र पुगेको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका  प्रहरी नायब उपरीक्षक (डिएसपी)खगेन्द्र बहादुर खड्काले आइतवार साँझ लोकान्तरसंग कुरा गर्दै फरार भनिएका सबै प्रतिबादिको सूची तयार गरी खोजी गर्न प्रहरी खटिएको बताए । तर, प्रतिवादीहरु कतै पनि फेला नपरेको डिएसपी खड्काको भनाइ छ ।  

जलेश्वर नगरपालिकाको मेयर रामशंकर मिश्र त कार्यालय वा सार्बजनिक स्थानमा देखा परेकै होलान्, वा घरमा होलान् भन्ने सबालमा उनले भने, ‘अहिले मेयर मिश्र पनि सार्वजनिक स्थान वा नगरपालिकाको कार्यालयमा देखा परेका छैनन् ।’ 

‘हामी आफ्नो काम गरिरहेका छौं, चाँडो भन्दा चाँडो फरार रहेका सबै प्रतिबादीहरुलाई पक्राउ गरेर महोत्तरी जिल्ला अदालत समक्ष बुझाउँछौं,’ डिएसपी खडकाले लोकान्तरसँग भने, ‘कानून बमोजिम प्रहरीले काम अगाडी बढाएको छ, देखिने बित्तिकै हामीले पक्राउ गर्छौं,  हाम्रो काम नै फरार रहेका प्रतिबादीलाई खोज तलाश गर्ने, पक्राउ गर्ने काम नै हो, हामी आफ्नो काममा लागिसकेका छौं ।’

थमन बिकको हत्याको आरोपमा प्रतिबादी भनिएका सामाजिक बिकास राज्य मन्त्री अभिराम शर्मा, प्रदेश सभा सदस्य कौशल कुमार यादव, जलेश्वर नगरपालिकाका मेयर राम शंकर मिश्र लगायतका २८ जना प्रतिबादी मध्ये दुई जना कारगारामा थुनामा छन् भने एक जना रिहा भएको भए पनि बांकी सबै प्रतिबादीहरू फरार नै रहेका छन् ।

स्रोतका अनुसार फरार रहेका राज्यमन्त्री शर्मा काठमाडौं  पुगेका छन् ।

राजपा नेपालका केन्द्रीय प्रवक्ता कृष्णा सिंहले शर्मालाई अदालतमा उपस्थित गराउने विषयमा आन्तरिक छलफल भइरहेको बताए । ‘हामी उच्च अदालतको  परमादेशको सम्मान गर्छौं, प्रतिबादीलाई अदालत समक्ष उपस्थित गराउने छौं वा छैनौं भन्ने बिषयमा राजपा नेपालले छलफल गर्दैछ, भोली त्यसको निर्णय हुन्छ,’ सिंहले लोकान्तरसँग भने, ‘यद्यपि उक्त मुद्दा राजनीतिक मुद्दा हो, झुटा मुद्दा फिर्ता लिनु पर्छ भनेर राज्यसंग समझौता समेत भएको छ ।’ मुद्दा फिर्ता लिनेबारेमा समेत संघीय सरकारसंग कुरा हुने सिंहले बताए ।

प्रदेश नम्बर २ को सत्तारुढ दल संघीय समाजबादी फोरम नेपालका प्रदेश सचिब शेष नारायण यादवले थमन बिकको हत्या आरोप लागेका आफ्ना पार्टीका सांसद कौशल कुमार यादव र लक्ष्मी महतो लगायतका नेताहरूलाई प्रहरीले पक्राउ गरे चरणबद्ध आंदोलन गर्ने बताएका छन् ।  

लोकान्तर संगको कुराकानीमा यादवले भने, ‘राज्यले झुटो मुद्दा लगाएकाले उक्त मुद्दा फिर्ता लिनु पर्छ, त्यसका लागि हामी सदन, सड़क र सरकारमा पनि संघर्ष गर्छौं । संघीय सरकारबाट बाहिरिनु परे पनि हामी तैयार हुन सक्छौं, तर आफ्नो सांसद अदालतमा आत्मसमर्पण गर्दैन ।’

salt training

कमेन्ट गर्नुहोस्