काठमाडौं – समरको ट्रान्सफर मार्केटमा म्यानचेस्टर युनाइटेडले गर्नुपरेको संघर्षका कारण आउँदो सीजनमा पनि दिक्कलाग्दो फूटबल खेल्नुपर्ने अवस्था आएमा प्रशिक्षक जोसे मउरिन्होले क्लब छोड्न सक्ने पल स्कोल्सले बताएका छन् ।
अघिल्लो सीजनमा अपनाएको तरिकाका बारेमा मउरिन्होको आलोचना भएको थियो । सीजनमा केही पनि उपाधि जित्न नसकेको युनाइटेडले डिफेन्सिभ माइन्डसेट अपनाएको थियो ।
ऊ प्रिमियर लीगको दोस्रो स्थानमा रहन सफल भयो र एफए कपको फाइनलमा पनि पुग्यो तर संसारकै सबभन्दा ठूलो क्लबमध्ये एकबाट यसभन्दा बढीको अपेक्षा गरिन्छ ।
प्रिसीजनमा मउरिन्होले पहिलो रोजाइका कमै खेलाडीलाई मात्र खेलाउन पाए किनकि उनीहरू रुस विश्वकपमा थिए । अनि ट्रान्सफर मार्केट खुल्दा पनि उनले खासै फाइदा उठाउन सकेका छैनन् । त्यसैले उनी ‘अप्ठ्यारो स्थिति’ मा रहेको स्कोल्सको विश्वास छ ।
युनाइटेडका लेजेन्ड खेलाडी स्कोल्सले भने, ‘उनले क्लब छोड्ने विषयमा त मलाई केही थाहा छैन । उनले सीजनको शुरूआत चाहिँ धेरै राम्रो गर्नुपर्छ भन्नेमा कुनै शंका छैन । उनको टोलीले कसरी खेल्छ भन्ने कुरामा धेरै चीज निर्भर रहन्छ ।
उनीहरूले राम्रो नखेलेमा, मानिसलाई मनोरञ्जन नदिएमा अनि लीग उपाधिमा चुनौती नदिएमा उनी बिदा हुने सम्भावना छ ।’
‘तर उनीसँग अथाह अनुभव छ, उनले शीर्ष क्लबहरू सम्हालिसकेका छन् र पहिले पनि अप्ठ्यारोमा परिसकेका हुन् । उनी अहिले अप्ठ्यारो स्थितिमा छन् तर उनले यसबाट निस्कनका लागि उपाय खोज्नुपर्ने हुन्छ ।’
यस सीजनमा युनाइटेडको शुक्रवार पहिलो खेल गृहमैदानमा लेस्टरविरुद्ध छ र त्यसमा उनीहरूले प्रभावशाली प्रदर्शन गर्नुपर्ने दबाब छ ।
गोल डट्कमबाट