
काठमाडौं – अमेरिकाको वाशिङटन राज्यमा रहेको भ्यानकूभरमा १६ वर्षीया किशोरीलाई उनकी साथीले ६० फीट अग्लो पुलबाट धकेलिदिएकी छन् ।
जोर्डन होल्गरसन नामक किशोरी लिविस नदीमा पौडी खेल्न गएकोमा पुलमाथिबाट हाम्फाल्ने निर्णयमा पुगेकी थिइन् ।
तर पुलमाथि पुगेर तल हेर्दा उनी आत्तिएपछि नहाम्फाल्ने भनेकी थिइन् तैपनि साथीले धक्का दिइन् ।
त्यसरी लडेपछि उनको करङका पाँचवटा हड्डी भाँच्चिए, फोक्सोमा प्वाल पर्यो र छातीमा पानीका फोका जमे ।
तल पानी हेरेर डराएकी होल्गरसनलाई एक साथीले आक्रामक तवरले धकेलेकी थिइन् ।
त्यसरी हाम्फाल्दा सीधा उभिनुपर्ने हुन्छ अनि गोडाले पहिला पानीलाई छुनुपर्छ । तर धक्का खाएपछि जोर्डन हात र गोडा हल्लाउँदै हाम्फालिन् र पानीमा जोडले ठोक्किइन् ।
पछि उनले एक स्थानीय वेबसाइटलाई बताइन्, ‘म हावामै हुँदा बेहोश भएँ हुँला तर पानीमा ठोक्किँदा चाहिँ सचेत नै थिएँ ।’
उनलाई पौडेर कसैले उद्धार गर्यो र नजिकैको पीसहेल्थ साउथवेस्ट मेडिकल सेन्टर पुर्यायो ।
उनकी आमाले यो घटनामा क्लार्क काउन्टी शेरिफको कार्यालयले अनुसन्धान गरिरहेको तर उनलाई धकेल्ने साथीमाथि फौजदारी अभियोग लाग्ने नलाग्ने प्रस्ट छैन ।
एजेन्सी