काठमाडौं – उत्तरी यमनमा आउदी अरब नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमणमा बिहीवार कम्तीमा ४३ जनाको मृत्यु भएको छ । मृतकमा धेरैजसो बच्चा छन् र उनीहरू १० वर्षभन्दा कम उमेरका छन् ।
आक्रमणहरू बसमा गरिएकाले यी मृत्यु भएका हुन् ।
हूती विद्रोहीहरूले सञ्चालन गरेको अल–मसीराह टीभीका अनुसार, हवाई आक्रमणले बसलाई लक्षित बनाएको थियो । ती बस विद्रोहीको कब्जामा रहेको सादा प्रान्तको दाहयान बजार हुँदै गुज्रिएको थियो ।
सादाको स्वास्थ्य कार्यालयका प्रमुख याहया शायेमले समाचार संस्था सिन्ह्वालाई बताए, ‘प्रसिद्ध दाहयान बजारमा यात्रीबसलाई निशाना बनाएर साउदी अरबको नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा ४३ जना मारिए र ६४ जना घाइते भए । मृतकमा अधिकांश विद्यालय जाने बच्चाहरू छन् ।’
रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सादा क्षेत्रका अस्पतालमा दर्जनौं घाइतेलाई भर्ना गरिएको बताएको छ । साउदी अरब नेतृत्वको गठबन्धनले यो आक्रमण इरानसमर्थक हूती विद्रोहीमाथि गरिएको बतायो । ती विद्रोहीले बुधवार साउदी अरबको
सीमावर्ती जाजान क्षेत्रको एक शहरमा ब्यालिस्टिक क्षेप्यास्त्र हानेको र आफूहरूले प्रतिकारवाही गरेको साउदी गठबन्धनको भनाइ छ ।
हूती विद्रोहीहरूले यो बयानलाई पूरै हास्यास्पद रहेको बताउँदै यो युद्धअपराध भएको बताए । साउदी गठबन्धनले बच्चाहरूलाई तारो बनाएकाले यो जघन्य युद्धअपराध भएको विद्रोहीहरूको भनाइ छ ।
एजेन्सी