
काठमाडौं– नेपालस्थित अमेरिकी दूतावासको नक्कली कागजात र छाप बनाएर विभिन्न व्यक्तिलाई ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अमेरिकाको डिस्कभरी च्यानलको काम गर्ने भन्दै ठगी गर्ने प्रसन्न खातीलाई पक्राउ गरेको हो ।
काठमाडौंको डिल्लीबजार घर भई गोकर्णेश्वर बस्ने प्रसन्नले डिस्कभरी च्यानलको नक्कली कार्ड देखाएर विभिन्न व्यक्तिलाई प्रभावमा पारी अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको भेटिएको छ ।
प्रसन्नबाट ठगिएका ३ जना पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
उनले एकजना पीडितलाई अमेरिका पठाइदिन्छु भन्दै २० लाख ठगेका छन् भने अर्कालाई काठमाडौंस्थित अमेरिकी दूतावासबाट एउटा परियोजना पारिदिने भन्दै २५ लाख रुपैयाँ ठगेका छन् ।
सीआईबीका अनुसार खातीले मोबाइलबाट अमेरिकाको भिसा लागेको नक्कली प्रमाण देखाएर २० लाख असुलेका छन् ।
यस्तै नेपालस्थित अमेरिकी दूतावासको कोषबाट १५ करोडको परियोजना पार्ने भन्दै २५ लाख रुपैयाँ असुल गरेको देखिएको सीआईबीका प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईले जानकारी दिए ।
खातीले सामाजिक सञ्जाल फेसबुकबाट साथी बनाएर विभिन्न व्यक्तिलाई ठगी गर्ने गरेका थिए ।
प्रविधिको दुरुपयोग गरे ठगी
खातीले विभिन्न मोबाइल एप र कम्प्युटर प्रोग्रामहरूको प्रयोगबाट नक्कली भिसा कार्ड, आइडी कार्ड र क्युआर कोड बनाएर ठगी गर्ने गरेको सीआईबीले जनाएको छ ।
पछिल्लो समय प्रविधिको दुरुपयोग गरेर ठगी गर्ने क्रम बढेको भन्दै सिआईबीले सचेत रहन आग्रह गरेको छ । उनको साथबाट नेपालमा एनएमी बैंक, बैंक अफ् अमेरिका, अमेरिकी दूतावास लगायत सरकारी र गैरसरकारी संस्था तथा निजी कम्पनीका छापसमेत बरामद भएको सीआईबीले जनाएको छ ।
अमेरिकी डलर, बेलायती पाउण्डस्टर्लिङसहित विभिन्न विदेशी मुद्राका नोट आकारका कालो रङ्गको बस्तु ( ब्ल्याक डलर)लाई रसायनको माध्यमबाट डलरमा परिणत गर्न सकिने भन्दै ठगी गर्ने क्रम पनि बढेको प्रहरीले जनाएको छ ।