
लितपुर– विश्व सम्पदामा सूचीकृत पाटन, भक्तपुर र काठमाडौँका तीनै दरवारमा रहेका ठूला घण्ट नबजेको वर्षाै भएको छ । यी दरवार क्षेत्र विश्व सम्पदामा समावेश हुँदा यी ठूला घण्ट पनि सम्पदामा सूचीकृत नहुने कुरा भएन ।
तर ती घण्टको अवस्थाबारे सरोकार राख्ने गुठी संस्थानका सम्वन्धित शाखा कार्यालय पनि वेखवर छ । घण्टको ऐतिहासिक पक्षवारे यी कार्यालयलाई जानकारी छैन् । घण्टहरू बजेका छन् वा छैनन् यसको हेक्का पनि नभएको कतिपय अधिकारीहरू बताउँछन् ।
भक्तपुर गुठी संस्थान शाखाका प्रमुख हरिप्रसाद सुवेदी भन्नुहुन्छ,‘भक्तपुरको ठूलो घण्टको अवस्थावारे सोधिखोजी गर्नैपर्ने भएको छ ।’ गुठी संस्थानका पाटन शाखा प्रमुख शैलेन्द्र पौडेलले पनि घण्ट विषयमा आफू जानकार नभएको वताउनुभयो ।
उहाँले भन्नुभयो,‘घण्टको विषयमा बझ्नैपर्ने छ साथै सोही घण्टको ठीक मुन्तिरका पसल कवलबाट गुठी संस्थानले १५ वर्ष अघिदेखि एकसुको वहाल पाएको छैन ।’ स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डा पाटन प्रमुख काजी प्याकुरेलका अनुसार यहाँको ठूलो घण्ट नबजेको वर्षाै भएको छ तर किन नबजाइएको हो भन्ने आफूलाई पनि थाहा नभएको बताउनुभयो ।
हनुमानढोका दरवार दिगु तलेजु सामुन्नेको ठूलो घण्ट पनि बजाइन्न, यो घण्ट नबजाइएको पनि वर्षौँ भएको जानकारहरूको भनाइ छ । घण्टसँगैको ठूलो नगराका नगर्ची वासुदेव परियारका अनुसार नगरा र घण्ट सँगसँगै बजाएर दिगु तलेजुको नित्य पूजा र आरती गरिन्थ्यो तर अचेल घण्ट बजाउँदा वरिपरिका घरलाई ध्वनी प्रदूषण भयो भनिएपछि घण्ट बजाउने गरिएकै छैन । त्यसैले ती घण्ट नबजाइएको पनि वर्षौँ भइसक्यो ।
भक्तपुर तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीको भने अलि भिन्न भनाइ छ । उहाँका अनुसार भक्तपुरको घण्ट भने बजाइने गरेको छ । यहाँ ठूलापर्वमा राजोपाध्यायले र नित्य पूजा आरतीमा कर्माचार्य पूजारीले घण्ट बजाउने गरेका छन्, ठूलोघण्ट मात्र नभएर तलेजु मूलचोकमा रहेको अर्को ठूलो घण्ट पनि बज्न अहिलेसम्म नटुटेको मूलनाइके जोशी बताउनुहुन्छ ।
यी घण्ट दरवारको इस्ट देवता तलेजुको नित्य पूजा र आरतीमा बजाउनुपर्ने नियम छ । घण्ट बजाउनेलाई गुठी संस्थानका तत्तत् शाखा कार्यालयले स्थानीय तहमै खान्गी दिने व्यवस्था छ । यी तीनै घण्ट मल्लकालीन समयमा स्थापना गरिएका हुन् भने काठमाडौँको दुई ठूला नगरा गीर्वाणयुद्धविक्रम शाहका पालामा राखिएका हुन् ।
घण्ट नबजाइए पनि संस्थानबाट बुझ्नेले खान्गी पर्वमा राँगाबोका, हाँस आदि बुझेको देखिएको संस्थानका अधिकारी बताउँछन् ।, गोरखापत्रमा खबर छ ।