०२ असार २०८३, मंगलबार

पसल अगाडि डस्टबिन नराखे जरिवाना

साउन २६, २०७५
पसल अगाडि डस्टबिन नराखे जरिवाना

सुर्खेत – वीरेन्द्रनगर बजार क्षेत्रका घरधनी र पसल सञ्चालकले डस्टबिन नराखे जरिवाना तिर्नुपर्ने भएको छ ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरको मुटुलाई स्वच्छ र सफा बनाउने उद्देश्यका साथ शुरू गरिएको ‘क्लीन सुर्खेत, ग्रीन सुर्खेत’ अभियान अन्तर्गत अब घर र पसलको अगाडि डस्टविन नराख्नेलाई जरिवाना गरिने भएको छ ।

वीरेन्द्रनगर नगरपालिका–६ को सहकार्यमा वीङ्स फाउन्डेसनसहित विभिन्न सामाजिक संघसंस्थाले शनिवारदेखि ‘क्लीन सुर्खेत, ग्रीन सुर्खेत’ अभियानको शुरूवात गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–६ का वडाध्यक्ष मोतिलाल कँडेलले हरेक घरधनीले आफ्नो आँगन र  घर सफा राख्न सके मात्रै पनि शहरलाई धेरै सफा बनाउन सकिने बताए । अभियानमा हरेक घरमा पुगेका अध्यक्ष कँडेलले अभियान अरु कसैका लागि नभएर हामी सबैका लागि शुरू गरेको बताए ।

‘पहिले हरेक घरमा पुगेर घरधनी तथा व्यापारीलाई जानकारी दिने छौं,’ उनले भने, ‘यदि नमानेको खण्डमा उहाँहरूले तिर्ने सम्पत्ति करमाथि जरिवाना थपेर कारवाही  गर्ने योजना नगरपालिकाको छ ।’ अध्यक्ष कँडेलले गल्ती दोहोर्याए निरन्तर जरिवानाको दर पनि बढाउने बताए ।

‘हामीले उहाँहरूको घर तथा पसल अगाडि फालिएको फोहोरहरू उठाएका छौं । आगामी दिनमा फोहोर यसरी नफाल्न आग्रह पनि गरेका छौं,’ उनले भने, ‘यदि आगामी दिनमा त्यो क्रम नरोकिए पहिलो पटकलाई १ हजार रुपैयाँ जरिवाना तथा त्यसपछि पनि गल्ती दोहोर्याए क्रमशः जरिवानाको दर पनि फराकिलो बनाउँदै लैजाने छौं ।’ उनले क्लीन सुर्खेत ग्रीन सुर्खेत अभियानमा सबै जनताको साथ, सहयोग पाउनेमा नगर ढुक्क रहेको बताए ।

विङ्ग्स फाउन्डेसनका अध्यक्ष एवं बालरोग विशेषज्ञ डा. नवराज केसीले आफूहरूले हरेक घर अगाडि ‘फोहोर मलाई’ राखेर नगरलाई सफा बनाउन अभियान शुरू गरेको बताए । विभिन्न सरकारी तथा गैरसरकारी सामाजिक अभियन्ताको समूहको संयुक्त आयोजनामा अभियान शुरू गरिएको छ ।

‘नगर सफा भएको खण्डमा नगरवासीको स्वास्थ्य पनि राम्रो हुने र त्यसले यहाँको वातावरण पनि सफा राख्न सहयोग पुग्ने भएकाले अभियान चलाएका  हौं,’ उनले भने, ‘यो क्लीन सुर्खेत, ग्रीन सुर्खेत अभियानलाई सबैले माया गर्नु हुनेछ र सक्रियतापूर्वक भाग लिनुहुनेछ भन्ने अपेक्षा छ ।’

सुर्खेत महिला जेसिज अध्यक्ष कृति शाक्य गुभाजुले आफूहरूको चाहना निरोगी सुर्खेत भएको बताइन् । ‘बजार क्षेत्र फोहोर हुँदा विभिन्न रोगहरू निम्तने खतरा बढेको छ,’ उनले भनिन्, ‘यसका लागि हामीले बेलैमा सफा र स्वच्छ वीरेन्द्रनगर बनाउन अभियान शुरू गरेका हौं ।’ उनले सबैले घर अगाडि डस्टबिन राख्ने र नगरपालिकाले त्यही डस्टबिनमा राखेको फोहोर लिएर जाने योजनासहित अभियान प्रारम्भ भएको जानकारी दिइन् ।

सामाजिक अभियन्ता भद्र भण्डारीले नगर सफा राख्नु नगरपालिकाको मात्र दायित्व नभएको बताए । ‘नगरले मात्रै सरसफाइ गर्नुपर्छ, त्यो काम नगरको मात्रै हो भन्ने धारणा त्यागौं,’ उनले भने, ‘सबैले आफ्नो फोहोर सही व्यवस्थापन गर्न सके नगर आफै सफा हुने मेरो अपेक्षा हो ।’ वीरेन्द्रनगर जुनियर जेसिजका अध्यक्ष यज्ञ खत्रीले डस्टबिन र स्ट्याण्डको २ हजारभन्दा बढी नपर्ने बताए । 

उषा बालबाटिका माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत छात्र सन्दिप पौडेलले आफूहरू पनि नगर सफा राख्नुपर्छ भनेर अभियानमा होमिएको बताए । घर सफा राखे बजार सफा हुने र बजार सफा भए शहर नै सफा हुने हुँदा आफूहरू सबैको घरघरमा गई अभियानलाई डस्टबिन राखेर सहयोग गरिदिन आग्रह गरिरहेको बताए ।

अभियानमा आईटी अध्यक्ष प्रेम चन्द, अभियन्ता उपेन्द्र खड्का, अभियन्ता प्रतिमा गौतम, अभियन्ता कल्पना बस्नेत लगायतको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्