०६ साउन २०८३, बुधबार

यसरी हुँदैछ नेकपाका कमिटीहरूको एकता, यी हुन् प्रदेश अध्यक्षका दाबेदार

यसरी हुँदैछ नेकपाका कमिटीहरूको एकता, यी हुन् प्रदेश अध्यक्षका दाबेदार

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाले भदौ पहिलो साताभित्र प्रदेश र जिल्ला कमिटीहरुलाई एकीकरण गरिसक्न निर्देशन दिएसँगै सबै कार्यदलहरुले काम अन्तिम चरणमा पुर्‍याएका छन् । 

प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरुको एकीकरण टुंगो लगाउन अधिकांश कार्यदलहरुले दस्तावेज, पदाधिकारी संख्या तथा नामसमेतको अन्तिम टुंगो लगाउने क्रममा छन् । 

दुई पार्टी एकता भएर बनेको नेकपाको कमिटीहरुमा रहने आकांक्षी धेरै भएपछि व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । यसमा पनि एकता अघिका दुई पार्टीको व्यवस्थापन पनि जटिल रहेको छ । तर एकताको मूल भावना अनुसार काम भइरहेको नेताहरुले बताएका छन् ।

प्रदेश भागवण्ड

पूर्व एमालेले चारवटा र पूर्व माओवादीले तीनवटा प्रदेश कमिटीको नेतृत्व गर्ने अनौपचारिक सहमति भएको छ । प्रदेश नम्बर १, ३, ६ र ७ प्रदेशको अध्यक्ष पूर्व एमालेले पाउने छ । त्यस्तै प्रदेश नम्बर दुई, चार र पाँच नम्बर प्रदेशको अध्यक्ष पूर्वमाओवादीको भागमा पर्ने एक सचिवालय सदस्यले बताए । 

प्रदेश संगठन कमिटीमा स्थायी समितिका रहेका नेतालाई इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिने तयारी भएको छ । त्यस्तै अध्यक्ष र सचिव पदको वाँडफाडमा पनि सन्तुलन मिलाएर गर्ने तयारी कार्यदलहरुले गरेका छन् । प्रदेश र जिल्लामा एउटा पक्षले अध्यक्ष र सहइन्चार्ज तथा अर्को पक्षले इन्चार्ज र सचिव लिने गरि छलफल भइरहेको छ । 

७७ जिल्ला मध्ये पूर्व एमालेबाट ४५ देखि ४८ र पूर्वमाओवादीबाट २९ देखि ३२ जिल्ला अध्यक्ष लिने गरि कार्यदलहरुमा छलफल भएको छ । तर पार्टी एकिकरण भइसकेका कारण पूर्व दल र प्रतिशतका आधारमा एकता गर्न नहुने केहीको तर्क छ । 

प्रदेशको नेतृत्वमा होडबाजी

एकीकृत पार्टीको प्रदेश कमिटीको नेतृत्व गर्ने नेताहरुले आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् । प्रदेश कमिटीको टुंगो लागिपछि जिल्लाहरुको नेतृत्व केन्द्रमा सिफारिस गर्ने तयारी कार्यदलहरुको छ । 

प्रदेश नम्बर एकमा जगन्नथ खतिवडा, राम कार्की र सावित्रीकुमार काफ्ले प्रदेश अध्यक्षको दाबेदारको रुपमा छन् । 

त्यस्तै प्रदेश दुईमा शत्रुधन महतो, प्रभु साह, नागेन्द्र चौधरी अध्यक्षको दाबेदारको रुपमा रहेका छन् । 

प्रदेश तीनमा पशुपती चौलागाइँ, काशीनाथ अधिकरी, नारायण दाहाललाई अध्यक्षको दाबेदारको रुपमा हेरिएको छ । 

गण्डकी प्रदेशमा हितराज पाण्डे, किरण गुरुङ, तुलबहादुर गुरुङको दाबेदारी रहेको छ । 

प्रदेश नम्बर पाँचमा मणि थापा, गणेशमान पुन र दलबहादुर रानालाई प्रदेश कमिटीका अध्यक्षको दाबेदारको रुपमा हेरिएको छ । 

कर्णाली प्रदेशमा यामलाल कँडेल, गोरखबहादुर बोगटी, मायाप्रसाद शर्मा लगायतको दाबी रहेको छ । 

प्रदेश नम्बर सातमा कर्णबहादुर थापा, लेखराज भट्ट,  लक्ष्मीदत्त जोशीले अध्यक्षको दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

जनवर्गीय संगठनहरुको एकीकरण अन्तिम चरणमा

दुई पार्टीका जनवर्गी संगठनहरुको एकीकरणको प्रकृया पनि अन्तिम चरणमा पुगेको छ । युवा, विद्यार्थी, महिला, मजदुर, पत्रकारलगायका जनवर्गीय संगठनहरुको एकता प्रकृया अन्तिम चरणमा पुगेको छ । 

विद्यार्थी संगठनको कार्यदलले विधानको टुंगो लगाएको छ भने नाम र नेतृत्वमा अन्तिम सहमति बाँकी रहेपनि कुनै विवाद नभएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । 

त्यस्तै पूर्व एमालेको युवा संघ र पूर्व माओवादीको वाइसीएलबीचको एकता प्रकृया पनि जारी छ । कार्यदल विधान निर्माणको अन्तिम चरणमा रहेको छ । विधान बनेसँगै अन्य विषयहरु चाडै सकिने कार्यदलको भनाइ छ । 

महिला संगठनहरुको एकिकरण गर्न बनेको कार्यदलले विधानलाई अन्तिम रुप दिएको छ । साउन महिना भित्रै एकता गर्ने गरि गृहकार्य भइरहेको कार्यदलकी सदस्य अमृता थापामगरले जानकारी दिइन् । 

त्यस्तै मधेसी, उद्योगी व्यवसायी, पेसागत कर्मचारी, खेलकुद जनताजी लगायतका संगठनहरुको एकताका क्रममा छन् । उनीहरुमध्ये अधिकांश जनवर्गीय संगठनहरुको विधान अन्तिम चरणमा पुगेको छ । 
 

कमेन्ट गर्नुहोस्