
विराटनगर– विराटनगर महानगरपालिका परिसरमा बम पड्काएको आशंकामा प्रहरीले केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीका अनुसार घटनामा संलग्न भएको आशंकामा केहीलाई नियन्त्रमा लिइएको छ । शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने कार्य जारी भएकाले अहिले नै नाम सार्वजनिक गर्न नमिल्ने केसीले बताए ।
मोरङ प्रहरीले अनुसन्धानकालागि महानगरपालिका भित्र रहेको सिसिटिभीको डिभाईस नियन्त्रणमा लिएर निगरानी बढाएको छ । वम विष्फोटबाट महानगरपालिकाको मेयर चढ्ने गाडी, महागनरपालिकाको भवन र फर्निचरमा क्षती पुगेको छ । महानगरको दोश्रो तलामा भएको विष्फोटबाट सोफा, दराज तथा झ्यालको सिसा फुटेका छन् ।
विस्फोटमा परी महानगरका कार्यालय सहयोगी शिवचन्द्र ठाकुर बेहोस भएका छन् । उनलाई उपचारका लागि कोशी अञ्चल अस्पतालमा भर्ना गरिएको छ । उनी मुटुको रोगी भएको बताइएको छ ।
महानगरपालिकाका मेयर भीम पराजुुलीले ठूलो संख्यामा सेवाग्रहीको काम हुने महानगरपालिकामा वम विस्फोट गराउने काम निन्दनीय भएकाले यसले कसैलाई फाइदा नपुग्ने बताए । बिस्फोटको जिम्मा अहिलेसम्म कसैले नलिएको भएपनि बिभिन्न केही सञ्चारमाध्यमले भने विप्लव नेतृत्वकाे नेकपा र तराईमा भूमिगत रहेको गोईत समुहले बिस्फोट गराएको भन्दै समाचार सम्प्रेषण गरेका छन् । तर अहिलेसम्म आधिकारिक जिम्मा कसैलै पनि नलिएको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक केसीले बताए ।