०२ असार २०८३, मंगलबार

मुख्य समाचार : छोरीलाई जन्मनै निषेध-लैङ्गिक असन्तुलनको खतरा, कर्मचारीमाथि कार्यकक्षमै हातपात

मुख्य समाचार : छोरीलाई जन्मनै निषेध-लैङ्गिक असन्तुलनको खतरा, कर्मचारीमाथि कार्यकक्षमै हातपात

काठमाडौं– नेपालमा पुरुषभन्दा महिलाको संख्या करिब ८ लाख बढी छ । तर, छोरी जन्मने क्रम हरेक वर्ष घट्दै छ । छोरीको जन्मदर अहिलेकै अनुुपातमा घट्दै जाने हो भने केही वर्षभित्रै देशमा लैंगिक असन्तुलन आउनेछ ।

विज्ञहरूका अनुसार शुरुमा छोरा जन्मिए अर्को सन्तान नजन्माउने, पहिलो छोरी जन्मिए दोस्रो सन्तान पाउँदा लिंग पहिचान गरेर गर्भपतन गराउने, छोराको चाहना बढी हुनेलगायत कारणले छोरीको जन्मदर घट्दै गएको हो ।

केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणअनुसार (०६८ को राष्ट्रिय जनगणना) एक सय २१ छोरा जन्मिँदा सय मात्र छोरी जन्मिन्छन् । सबैभन्दा धेरै प्रसूति सेवा दिने थापाथलीस्थित प्रसूतिगृहको तथ्यांकमा पनि ५४ प्रतिशत छोरा र ४६ प्रतिशत मात्रै छोरी जन्मिएका छन् ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य महाशाखाको तथ्यांकनुसार आर्थिक वर्ष ०७३/७४ मा देशभर एक लाख ७७ हजार २ सय ५३ छोरा जन्मिए । सोही वर्ष जन्मिने छोरीको संख्या भने एक लाख ६६ हजार ३ सय २४ मात्र थियो । 

तथ्यांक विभागका सूचना अधिकारी प्रमोदराज रेग्मीका अनुसार नेपालमा छोरीको जन्मदर भारतमा भन्दा धेरै कम हुँदै छ । नेपालमा जतिसुकै पढेलेखे पनि, क्रान्तिकारी भए पनि छोरै होस् भन्ने चाहना राख्छन् । कुल जन्मदरमा छोराको संख्या धेरै छ र त्यो किन भइरहेको छ भन्नेबारे विस्तृत अध्ययन जरुरी छ । 

अघिल्लो आर्थिक वर्षमा तीन लाख २३ हजार महिलाले सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट गर्भपतन गराएका छन् । तीमध्ये ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराएको स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाको भनाइ छ ।, नयाँ पत्रिकामा खबर छ ।

प्रधानमन्त्री र राजपा नेताहरूबीच भेट
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वर्तमान सरकार गठन हुँदा भएका सहमति कार्यान्वयन गर्न माग गरेको छ । राजपा अध्यक्ष मण्डलका सदस्यले आइतबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी संविधान संशोधन, आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्तालगायतका विषयमा ध्यानाकर्षण गराएको राजपाका महासचिव केशव झाले जानकारी दिए । 

भेटका अवसरमा प्रधानमन्त्री ओलीले राजपाले राखेका माग सकारात्मक भए पनि कतिपय राजनीतिक विषयलाई राजनीतिकरुपमा समाधान गर्नुपर्ने बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

कर्मचारीमाथि कार्यकक्षमै हातपात
निजामति कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीमाथि हातपात गरेका छन् । भण्डारीले सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखाका कर्मचारीमाथि हातपात गर्नुका साथै कार्यलय तोडफोडसमेत गरेका छन् । 

भण्डारीले कर्मचारी सरुवाको विषयलाई लिएर मन्त्रालयको कर्मचारी प्रशासन शाखाका कर्मचारीमाथि हातपात गरेका हुन् । डोल्पामा कार्यरत शाखा अधिकृत नेत्रराज गिरीलाई अनुकुल स्थानमा सरुवा गराउनुपर्ने भन्दै भण्डारीले दवाव दिँदै आएका थिए । 

आफूले भनेअनुसार गिरीलाई सरुवा नगरिएको भन्दै भण्डारीले सामान्य प्रशासन मन्त्रालयका कर्मचारीमाथि हातपात गरेका हुन् । उनले कर्मचारी प्रशासन शाखामा तोडफोड गर्नुका साथै कुर्सी र टेबुल समेत भाँचेको सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारीले लोकान्तरलाई बताए । 

मन्त्रालयका स्रोतका अनुसार सचिव दिनेश कुमार थपलियाले आइतबार भएको घटनामाथि अनुसन्धान गर्न निर्देशन दिइसकेका छन् । 

बम बिस्फोट गराएको आशंकामा नौ जना पक्राउ
विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट गराएको आशंकामा प्रहरीले अुनसन्धानका लागि नौ जनालाई पक्राउ गरेको छ । महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष अगाडि आइतवार बम विस्फोट भएको हो । 

मेयरलाई भेट्न आउनेहरूका लागि प्रतिक्षा गर्न व्यवस्था गरिएको कोठामा बम विस्फोट भएको थियो । विस्फोटबाट भवनका शिशाहरू फुटेका छन् भने एउटा गाडीमा पनि क्षति पुगेको छ । 

प्रकाण्डलाई थप ३ दिन थुनामा राख्न अदालतको आदेश
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई जिल्ला अदालत काठमाडौंले थप ३ दिन हिरासतमा राख्न आदेश दिएको छ । चन्दा संकलनको आरोपमा पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि अदालतले थप समय दिएको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंले उनीमाथि अनुसन्धान नसकिएको भन्दै थप १५ दिन म्याद थप गर्न माग गरेको थियो । यसअघि प्रहरीले चन्दा ऐन २०३० अनुसार अनुसन्धान गर्न अदालतबाट ५ दिनको समय लिएको थियो । प्रहरीले खड्कालाई साउन २२ गते दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट पक्राउ गरेको थियो । 

डिजिटल विद्यालय निर्माणको तयारीमा कर्णाली सरकार
कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर डिजिटल विद्यालय निर्माणको तयारी थालेको छ । सरकारले चालु आर्थिक वर्षभित्र कार्य सम्पन्न गर्नेगरी डिजिटल विद्यालय निर्माणको अभियान थालेको हो । 

शैक्षिक क्षेत्रको उन्नयन र प्रविधियुक्त शिक्षाको उच्चतम् प्रयोगबाट प्रदेश समृद्धिमा सघाउ पु¥याउन डिजिटल विद्यालय निर्माणको तयारीमा सरकार लागेको हो । प्रारम्भिक चरणमा प्रदेशका २४ वटा निर्वाचन क्षेत्रलाई लक्षित गरी प्रत्येक निर्वाचन क्षेत्रमा एउटा डिजिटल विद्यालय निर्माण गरिने छ ।

मुगाको कारोवार गर्ने तीन पक्राउ 
महानगरीय प्रहरी परिसर काठमाडौँले मुगाको अवैध कारोबार गर्ने विदेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले काठमाडौँ महानगरपालिका–२६ होटल काठमाडौँ इकोमा बसेर मुगाको कारोबार गर्ने यमनका ४३ वर्षीय अलअस्री मोहामे याहा याहा, मुगुका ५१ वर्षीय ग्याल्पु तामाङ र जुम्लाका ३० वर्षीय नवीन चौलागाईँलाई पक्राउ गरेको हो । 

प्रहरीले अभियुक्तसँग आठ किलोग्राम मुगा, पाँच हजार २०३ अमेरिकन डलर, एक हजार ४०० यमन मुद्रा, ७५० इजिप्ट मुद्रा, ४९३ चिनियाँ मुद्रा, २६० यमन मुद्रा, २६० थाइल्याण्ड मुद्रा, २७ ओमन मुद्रा र २० सुडानको मुद्रा बरामद गरेको छ । 

प्रदेश नं ७ : विधेयक पारित
प्रदेश नं ७ प्रदेशसभाको बैठकले मुख्य न्याधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए । 

बैठकले स्थानीय तहलाई वित्तीय हस्तान्तरण व्यवस्थापन गर्न बनेको विधेयक २०७५ लाई दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाइयोस् भनी आर्थिक मामिला तथा योजना मन्त्रीले प्रस्तुत गरेको प्रस्तावलाई स्वीकृति दिएको छ । 

सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण

अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकाँक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्ष रकेट प्रक्षेपण गरेको छ । यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन् । 

“तीन, दुई, एक, ब्लास्टअफ” फ्लोरिडास्थित केप कानाभरालबाट डेल्टा–४ रकेट प्रक्षेपणका क्रममा विवरण सार्वजनिक गर्नासाथ हालसम्मकै तीव्र गतिको रकेट स्थानीय समयअनुसार बिहान ३.३१ बजे अँध्यारो आकाशतर्फ उडेको थियो । यस अनुसन्धान मिसनको नाम “पार्कर सोलार प्रोब” राखिएको छ । 

यो मानवरहीत अन्तरिक्ष यान इतिहासमै पहिलोपटक मानव निर्मित बस्तु सौर्य प्रणालीको सबैभन्दा नजिक पुग्नेछ । सात वर्षको यस मिसनअन्तर्गत पार्कर सोलार प्रोब सौर्य वायुमण्डल (कोरोना) मा प्रवेश गर्नेगरी डिजाइन गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्