काठमाडौं – प्रिमियर लीगमा पहिलोपटक प्रशिक्षण गर्न आएका उनाइ एमरीले पहिलो खेलमै आफ्ना पुराना प्रतिस्पर्धी म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको सामना गर्नुप¥यो । उनीहरूको यसअघि १० चोटि भेट भइसकेको छ र ग्वार्डिओलाले एमरीविरुद्ध एउटा खेल पनि हारेका छैनन् ।
आइतवार सिटीले आर्सनललाई २–० ले हराएपछि एमरीको त्यो लज्जास्पद रेकर्ड कायमै रह्यो ।
आर्सनललाई २२ वर्ष सम्हालेका आर्सेन वेन्गर बिदा भएपछि एमिरेट्स स्टेडियममा समरमा परिवर्तनहरू देखापरे । गनर्स भनेर चिनिने आर्सनल ट्रान्सफर मार्केटमा व्यस्त भयो अनि गोलकीपरदेखि लिएर डिफेन्सिभ मिडफील्डसम्मलाई बलियो बनाउन थाल्यो ।
स्पेनी नागरिक एमरीले आर्सनलका प्रशंसकहरूलाई योजनामुताबिक खेल नगएको भएपनि क्लबलाई समर्थन गरिरहन भने पनि विगत केही सीजनयता उत्तरी लन्डनको यो क्लब एकजुट हुन सकेको देखिएको छैन ।
विगत दुई वर्षयता विरोध प्रदर्शन र प्रशंसकको असन्तुष्टि क्लबप्रति देखिएको छ र एमरीले आफ्नो परियोजना लागू गर्न केही समय लाग्छ । आर्सनलले तीव्र गतिको दबाबमूलक शैलीको खेल खेल्नुपर्ने भनी माग भइरहँदा एमरीले त्यसरी खेलाउन समय लाग्नेछ ।
एमरीले १९ वर्षीय मिडफील्डर म्याट्टिओ गुएन्दुजीलाई शुरूबाटै खेलाए अनि सोक्राटिस पापास्ताथोपूलोस र स्टेफान लिख्तस्टाइनरले पनि प्रिमियर लीगमा पहिलो खेल खेले ।
तर गुएन्दोजीले सिटीविरुद्धको खेलमा राम्रो प्रभाव देखाउन सकेनन् र उनले दिशाविहीन डिस्ट्रिब्युसन गरे ।
लुकास तोरेरा उपलब्ध हुँदाहुँदै गुएन्दोजीलाई शुरूमा खेलाउने नीतिमा प्रश्न पक्कै उठ्नेछ । तर आइतवारको खेल हेर्दा आर्सनल र सिटीबीच विगत केही वर्षयता स्तरमा ठूलो खाडल देखिएको प्रस्ट छ ।
आर्सनलले अर्को हप्ता चेल्सीमा गएर उससँग भिड्नुछ अनि एमरीले आफ्नो टोलीलाई पुनर्गठन गर्नुपर्नेछ । गनर्स अहिले विकासकै चरणमा छन् तर उनीहरूले आइतवार चेल्सीविरुद्धको खेलमा उल्लेख्य सुधार गर्नुपर्ने हुन्छ । शीर्ष चार स्थानमा फर्किनका लागि उनीहरूले निकै मेहनत गर्नुपर्छ । दुई वर्षयता उनीहरू च्याम्पियन्स लीगका लागि छनोट हुन सकेका छैनन् ।
गोल डट्कममा प्रकाशित आर्सनल संवाददाता क्रिस ह्वीट्लीको विश्लेषण