काठमाडौं – राष्ट्रियसभाको आजको दोस्रो बैठकले पूर्वसांसद भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको सो प्रस्तावलाई बैठकले पारित गरेको हो । वि.सं. २०१५ को पहिलो आमनिर्वाचनमा गोर्खा परिषद्को तर्फबाट धादिङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्व सांसद राणाको ९१ वर्षको उमेरमा भारतको कोलकातामा यही साउन २५ गते हृदयाघातका कारण निधन भएको थियो ।
पूर्व सांसद राणा नेपालको प्रथम जननिर्वाचित संसदमा प्रमुख प्रतिपक्षी दलका नेता हुनुहुन्थ्यो भने पछि गोर्खा परिषद्बाट नेपाली काङ्ग्रेसमा प्रवेश गरी केन्द्रीय सदस्य बनेका थिए ।
बैठकले नेपालको लोकतान्त्रिक आन्दोलनमा संघर्षरत एक प्रखर व्यक्तित्वको छवि बनाएका स्व. राणाको निधनप्रति गहिरो समवेदना प्रकट गर्दै एक मिनेट मौन धारणसमेत गर्यो ।
राष्ट्रियसभाको अर्को बैठक मङ्गलबार दिउँसो २ बजे बस्नेछ ।