काठमाडौं –संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान खरिदको सम्बन्धमा प्रश्न उठेपछि मन्त्रालयले सुक्ष्म ढंगले छानबिन शुरु गरेको बताएका छन् ।
प्रतिनिधिसभाको सोमवारको बैठकमा सभामुखसँग समय लिएर मन्त्री अधिकारीले जहाज खरिदका क्रममा विगतमा भएको प्रक्रियाबारे अध्ययन अनुसन्धान भइरहेको र दोषी पाइए कारवाही हुने बताएका हुन् ।
ʻदुईवटा जहाज खरिदका सन्दर्भमा भर्खरै पनि माननीय सदस्यले प्रश्न गर्नुभयो । केही प्रश्न बाहिर पनि उठेका छन् । जहाज खरिदको लामो प्रक्रिया छ । लामो प्रक्रिया पूरा गरेर दुईवटा विमान आएका छन् ।
खरिद प्रक्रियाको सम्बन्धमा मन्त्रालयले सुक्ष्म ढंगले अध्ययन र अनुसन्धान गरिरहेको छ । हाम्रो अध्ययनपछाडि सदनलाई जानकारी गराउँछु ।ʼ मन्त्री अधिकारीले भने, ʻअरु थप जहाज आवश्यक छ । मुख्य कुरा निगमको विमानलाई संसारका विभिन्न ठाउँमा पुर्याउनु र प्रतिष्ठालाई माथि उठाउनु आजको आवश्यकता हो । गलत छ, छानबिन र कारवाहीको दायरामा आउँछ, एयरलाइन्स निर्वाद् रूपमा अगाडि बढ्छ ।ʼ
मन्त्री अधिकारीले अटोमेसन प्रणालीमार्फत् इटिकटिङको व्यवस्था गरिएपछि टिकट बेचबिखनमा केही अनियमितता नहुने बताए ।
मन्त्री अधिकारीले पर्वतारोहणमा जाने पर्यटकको फर्जी उद्धारका सम्बन्धमा समेत सरकारले छानबिन गरिरहेको र दोषीमाथि कारवाही गर्ने बताए ।
यसअघि नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले वाइड बडी जहाज खरिदमा अनियमितताको आशंका रहेको बताएका थिए । उनले प्रतिप्रश्न गर्दै वाइड बडीमा वारेन्टी छ, छैन ? भनेर प्रश्न गरे ।
सांसद सुजाता कोइरालाले अन्तर्राष्ट्रिय विमानहरू आकाशमा होल्डिङ भइरहेको समयमा नयाँ जहाज थपेर कसरी व्यवस्थापन गर्नुहुन्छ ? भनेर प्रश्न सोधिन् ।
संसदमा भएको प्रश्नोत्तरको जवाफमा मन्त्री अधिकारीले जहाज आउनु ज्यादै राम्रो भएको र केही गल्ती भएको भए सरकार र सदनले नछाड्ने बताए । ʻनेपाल एयरलाइन्सलाई प्रभावकारी ढंगले अगाडि बढाउनु आवश्यक छ । केही कमजोरी छ भने छानबिनको दायरामा आउछ,ʼ उनले भने ।
अन्तर्राष्ट्रिय विमान समयमा उड्ने र दुई महिनापछि टिकट लुकाउने अवस्था नहुने बताए ।