
काठमाडौं – आधुनिक जीवनमा फेशन सबै व्यक्तिको जीवनमा महत्त्वपूर्ण कुरा भएको छ । मानिसको भीडमा सबभन्दा अलग र सुन्दर देखिने इच्छा हरेक व्यक्तिमा हुन्छ ।
बदलिँदो फेशन र आकर्षक देखिने दौडमा मानिसहरू एक दिनका लागि अन्लाइन साइटहरूबाट कपडा किन्न थालेका छन् । नयाँ कपडा लगाएर मानिसहरू तस्वीर खिच्छन् र सामाजिक सञ्जालमा पोस्ट गर्छन् अनि कपडा फर्काइदिन्छन् ।
यो ट्रेन्डलाई आउटफिट अफ द डे नाम दिइएको छ ।
बर्कले यार्डको एक अनुसन्धानअनुसार, बेलायतमा दशमध्ये एक व्यक्तिले सामाजिक सञ्जालमा शेयर गर्नका लागि एक दिनका लागि अन्लाइन कपडा किन्ने अनि शेयर गरेपछि कपडा फर्काउने गरेका छन् ।
अनुसन्धानले ३५ देखि ४४ वर्ष उमेरका पुरुष र महिलामध्ये लगभग १७ प्रतिशतलाई एक दिनका लागि कपडा किन्दा नराम्रो अनुभव भयो ।
रमाइलो कुरा त, महिलाको तुलनामा धेरै पुरुष एक दिनका लागि कपडा किनेर फर्काउने गरेका छन् ।
पुरुषहरूमा राम्रो देखिने इच्छा अनि आफ्ना साथीहरूलाई प्रभावित पार्ने चाहना त छँदैछ, उनीहरू सधैं एउटै कपडामा देखिँदा लाज पनि मान्छन् । त्यसैले उनीहरू एकदिने कपडामा आकर्षित भएका हुन् ।
धेरै वेबसाइट र रिटेलरहरूले कपडा ट्राइ गरेपछि किन्नुस् भनी अफर दिएका हुन्छन् । अर्थात् कपडा लगाएर मन नपरेमा पैसा नतिरिकनै फर्काउन सकिन्छ । यो ट्रेन्डमा कारण कपडा लगाएर फर्काउनु अहिले सामान्य भएको छ ।
एजेन्सी