
काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले विभिन्न जिल्लाका ९५ सामुदायिक विद्यालयलाई ३ वर्षे प्राविधिक शिक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ ।
विभिन्न जिल्लामा ८ वटा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने समेत निर्णय गरेको छ । तालिम परिषद्को सोमवार बसेको बैठकले ती २ महत्त्वपूर्ण निर्णय गरेको परिषद्का सदस्य सचिव पुष्परमण बाग्लेले जानकारी दिए ।
यसले प्राविधिक शिक्षाको विकास, विस्तार, पहुँच तथा गुणस्तरीय बनाउन कोशेढुंगाको काम गर्ने विश्वास गरिएको छ । यसअघि, २ सय १७ वटा सामुदायिक विद्यालयमा १८ महिने र ३ वर्षे प्राविधिक शिक्षा सञ्चालनमा रहेको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने योजनालाई मूर्तरुप समेत दिएको छ । परिषद्अन्तर्गत हाल ३७ वटा आङ्गिक शिक्षालय, २ सय १७ सामुदायिक विद्यालय, ५ वटा साझेदारी शिक्षालय, ४ सय २९ वटा निजी संस्थालाई प्राविधिक शिक्षाको स्वीकृति दिएको छ ।
यसैगरी बैठकले ओखलढुंगास्थित जिल्ला अस्पताललाई नर्सिङ तहको पठनपाठनका लागि सम्भाव्यता अध्ययन गर्न समिति गठन गर्ने र सो टोलीलाई स्थलगत अध्ययनमा पठाउने निर्णय भएको सदस्य सचिव वाग्लेले जानकारी दिए ।
परिषद्अन्तर्गत हाल स–साना छोटा अवधिका ८ सय तालिम सञ्चालन समेत भइराखेको छ ।
‘हामी गरिखाने, भूगोल र माटो सुहाउँदो शिक्षालाई समुदायस्तरमा पुर्याउने अभियानमा छौं,’ उनले भने । सदस्य सचिव वाग्लेले सबै स्थानीय तहमा प्राविधिक शिक्षा पु¥याउन कार्ययोजना तयार गरी कार्यान्वयनमा उतारेको जानकारी दिए ।