
काठमाडौं – अमेरिकाको बेमिजी तालमा एक पोथी हाँस आफ्ना ७६ सन्तानका साथ लाइन लागेर पौडिरहेको एक तस्वीर सार्वजनिक भएको छ ।
वाइल्डलाइफ फोटोग्राफर ब्रेन्ट सिजेकले यो तस्वीर खिचेर सामाजिक सञ्जालमा राखेपछि भाइरल भयो ।
फोटो भाइरल भएपछि ताल पुग्ने मानिसको भीड बढ्यो । त्यही दृश्य फेरि देख्न पाइएला कि भनी मानिसहरू कुरेर बसे ।
ब्रेन्टका अनुसार, हाँसको यति लामो पंक्ति उनले पहिलोपटक देखेका हुन् । मन परेर उनले फोटो क्लिक गरे ।
येल विश्वविद्यालयका पक्षीवैज्ञानिक रिचर्ड ओ प्रुमले यो गजबको दृश्य भएको बताए । ‘मैले चराहरूका बारेमा धेरै पढेको छु र उनीहरूसँग समय पनि बिताएको छु तर यति धेरै हाँसलाई एक लाइनमा हिँडेको देखेको थिएन,’ उनले भने ।
यो प्रकृतिको शानदार दृश्य हो र यसलाई फेरि देखिन गाह्रो छ । फोटोग्राफर ब्रेन्टले पक्षीवैज्ञानिकहरूलाई एक पोथी हाँसले यति धेरै बच्चालाई एकैचोटि स्याहार्न सक्छिन् भनी सोधेका छन् ।
एजेन्सी