
काठमाडौं, ८ फागुन – काठमाडौं उपत्यकामा फेरि पेट्रोलियम पदार्थको हाहाकार देखिएको छ । ढुवानी व्यवसायीको आन्दोलनका कारण उपत्यकामा इन्धन अभाव सृजना भएको हो ।
नेपाल पेट्रोलियम व्यवसायी महासंघका अनुसार अहिले उपत्यकाका झण्डै ९९ प्रतिशत पेट्रोल पम्पमा तेल छैन । ‘आज उपत्यकाका कुनैपनि निजी पेट्रोल पम्पमा तेल छैन,’ महासंघका अध्यक्ष लिलेन्द्र प्रधानले लोकान्तरसँग भने ।
नेपाल पेट्रोलियम ढुवानी मजदुरले गत शुक्रवार हड्ताल गरी ढुवानी अवरुद्व गरेपछि सोको असर आइतवार बजारमा प्रत्यक्ष देखिएको हो । नेपाल आयल निगमले केही समयअघिदेखि लागू गरेको पेट्रोलियम ढुवानी नियमावलीप्रति विरोध जनाउँदै ढुवानी व्यवसायीले आन्दोलन गरेका हुन् ।
‘निगमले लागू गरेको पेट्रोलियम ढुवानीले व्यवसायीलाई मर्का परेको छ,’ नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोराले लोकान्तरसँग भने । व्यवसायीले पेट्रोलियम ढुवानी मापदण्ड यसअघिकै कायम हुनुपर्ने भन्दै दवाब दिँदै आएका छन् ।
ढुवानी गर्दा तापक्रमका कारण हुने चुहावट, ढुवानी ट्याङ्करको अवधि लगायतका विषयमा व्यवसायीले विरोध जनाउँदै आएका छन् । यससम्बन्धमा निगमसँग पटकपटक भएको वार्ता असफल हुँदै आएको छ ।
सोका लागि सोमवार पुनः वार्ता हुँदै छ । १५ दिनमा समस्या समाधान नभए पुनः आन्दोलन हुने व्यवसायीको चेतावनी छ । डिलर्स एसोसियसनले भने सोमवारदेखि इन्धन आपूर्ति सहज हुने बताएको छ ।
निगमका पदाधिकारीहरुले भने इन्धन अभावबारे अनभिज्ञता प्रकट गरे ।