
विराटनगर – शुक्रवार बिहान मोरङको ग्रामथानमा एकैछिनमा एउटा घटना भयो । ग्रामथान गाउँपालिका–३ सिद्राहाको नहर किनारमा बसेका दिनेश र शिखाबीच विवाद हुँदा विराटनगरका दिनेश भट्टराईले शिखा घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरे ।
त्यो देखेपछि स्थानीय दौडिएर नहरको डिलमा पुगे । अनि, दिनेशलाई नियन्त्रणमा लिन खोजे । उनी थप आक्रमक भएर प्रतिकारमा उत्रिए । तर, उनलाई गाउँलेले घेरा हालेर नियन्त्रणमा लिन सफल भए । नियन्त्रणमा लिने क्रममा उनैले बोकेको छुरीले उनकै हातमा लागेर सानो चोट लागेको प्रहरीले जनाएको छ ।
विराटनगर महानगरपालिका–१३ घर भएका उनीहरूबीच बिहान करीब १० बजेतिर विवाद भएकोमा दिनेशले शिखालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले बताए । उनका अनुसार दुवै जना घुम्न जाने क्रममा को१७प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए ।
घुमघामकै क्रममा धारिलो हतियार प्रहार गरी हत्या गरेर शव नहरको डिलमा फालेर भाग्न खोज्दै गर्दा भट्टराईलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । उनीहरूबीच के सम्बन्ध थियो भन्ने बारेमा केही नखुलेको भएपनि प्रेमी–प्रेमी भएको हुन सक्ने प्रहरीको अनुमान छ । अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा गाउलेसँग दोहोरो तानातान भएको थियो ।
प्रारम्भिक अनुसन्धानको क्रममा युवती १ हप्तापछि अस्ट्रेलिया जाने तयारीमा रहेकाले प्रेमिकाले धोका दिने ठानेर हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । भट्टराईको भनाई उदृत गर्दै प्रहरीले भन्यो, ‘केही दिनदेखि शिखा अरु नै केटासँग लागेको थाहा पाएँ, त्यसपछि मौका छोपेर एकान्त ठाउँमा लगेर हत्या गरेको हुँ ।’
युवतीको अनुहार, घाँटी, पेटमा दाउ प्रहार गरेर विभत्स हत्या गरिएको केसीले बताए । युवतीको अनुहार चिन्न नसकिने अवस्थाको रहेको प्रहरीले जनाएको छ ।