![प्रधानमन्त्री ओलीको स्वागतका लागि यसरी सिँगारियो प्रदेशसभा परिसर [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Pradesh_2_Oli_bhraman_12_eYGY4JEETN.jpg)
जनकपुरधाम–प्रधानमन्त्री केपी शर्मा ओली शनिबार जनकपुरधाम आउँदै छन् । काठमाडौंबाट हेलिकप्टर चढेर उनी आउने कार्यक्रम तय भएको छ ।
प्रदेश सभामा विशेष सम्बोधन गर्ने उद्देश्यले यहाँ आउन लागेका प्रम ओलीलाई स्वागत गर्न प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सरकारका अन्य मन्त्रीहरू, विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरू र प्रमुख सचेतकहरू जनकपुर विमानस्थलमै पुगेर स्वागत गर्ने तयारी गरिएको छ ।
प्रदेश नं २ प्रदेशसभा सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रदेशसभामा प्रम ओलीको भव्य स्वागत र सम्मान गर्ने तयारी गर्नुका साथै मिथिला भोजनसहित पान खुवाएर बिदाइ गर्ने तयारी समेत गरिएको छ ।
प्रदेशसभामा सम्वोधन पश्चात धनुषाकै बरमझियामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै ओली स्वर्गीय रामवृक्ष यादवको स्मृतिसभामा सम्बोधन गर्न जाने कार्यक्रम तय गरिएको छ । तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपाको ब्यानरमा आयोजना हुने उक्त राजनीतिक कार्यक्रमलाई भव्य बनाउन नेकपाका प्रदेशका आठवटै जिल्लाबाट कार्यकर्ता परिचालन गर्ने तयारी गरिएको छ ।
नेकपाका नेता रामचन्द्र झाका अनुसार उक्त कार्यक्रमका लागि कम्तिमा पनि २० हजार मानिस उपस्थित गराउने गरी तयारी गरिएको छ ।
प्रम ओलीको जनकपुरधामको भ्रमणलाई लिएर राजनीतिक वृत्तदेखि जनता सम्ममा धेरै नै चर्चाको बिषय बनेको छ ।
पछिल्लो समय भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गत बैशाख २८ गते जनकपुर आउँदा प्रम ओली आए पनि जानकी मन्दिर बाटै फर्किएका थिए ।
यसरी सिँगारिएकाे छ प्रदेशसभा परिसर ।




















