०७ असार २०८३, आइतबार

मौलिक शैलीमा प्रत्यक्ष मनोरञ्जन : कलाकारलाई गहना भन्ने तर वास्ता नगर्ने ?

भदौ २, २०७५
मौलिक शैलीमा प्रत्यक्ष मनोरञ्जन : कलाकारलाई गहना भन्ने तर वास्ता नगर्ने ?

सुर्खेत – कर्णालीको राजधानी वीरेन्द्रनगर कला, संगीत र साहित्यका लागि उर्वर भूमि भनेर परिचित छ । सोही परिचित शहरका चर्चित पात्र हुन् कवि गिरी । धेरै एल्बम निकालेर हिट हुनुभन्दा लाइभ कार्यक्रम गरेर स्थानीय स्तरमै स्थापित हुनुपर्छ भन्ने मान्यता गायक गिरीले राख्छन् ।

सुर्खेतमा आयोजना गरिने हरेक सांस्कृतिक तथा अन्य कार्यक्रमका प्रमुख आकर्षण पात्रको रुपमा छाउने गायक गिरी त्यस्ता प्रतिभा भएका व्यक्ति हुन्, जसले एकै पटकमा २० भन्दा बढी फरक–फरक गीतका टुक्का गाउन सक्छन् । अद्भूत कलाका धनी गायक गिरीले हालसम्म १ एल्बमबाहेक (त्यो पनि अर्कैको श्वर दिएको) निकालेका छैनन् ।

स्टेज कार्यक्रममा उनले सधैं सुनाउने गायक स्वरुप राजको ‘हजार आँखा हेर्ने मेरी मायालुलाई’ गीत आफ्नी प्रेमिकालाई समर्पित गरेर गाउने गरेका छन् ।

हजार आँखा हेर्ने मेरी मायालुलाई
हजार हात छेक्ने मेरी प्रियसीलाई
कसोरी म भेटुँ, म देखुँ उनलाई
यी बाधा छिचोली अँगालु उनीलाई ।।

उनलाई यो गीत गाउँदा अत्यन्तै रोमान्स जाग्छ । लोकान्तरसँग खुल्दै उनले भने, ‘मैले यो गीत कम्तिमा १ सय पटकभन्दा बढी गाएँ । सानैदेखि गीत संगीतमा प्रेम भएका गायक गिरीका बुवा पनि गायक नै हुन् ।

उनका बुवा गाउँमा हुने विभिन्न कार्यक्रममा गीत गाउने र नाच्ने गर्दथे भने उनका दिदीबहिनी समेत नृत्य गर्न पछि पर्दैन्थे । उनले २०६६ सालमा नै रेडियो नेपालबाट लिइने श्वर परीक्षामा उत्तीर्ण भइसकेका थिए । हाल २६ वर्षमा हिँडिरहेका गायक गिरीले २०७२ सालमा सुर्खेतको रेडियो नेपालमा सुर्खेत गानसमेत गाए ।

हाम्रो सुर्खेत हाम्रो गौरव
सबै मिलेर गरौं पौरख ...

उनले अन्य व्यक्तिको आग्रहमा रेडियो नेपालमा ७ वटाभन्दा बढी गीत रेकर्ड गरेका छन् । रेडियो नेपालको आधुनिक गीत २०७२ सालमा मध्यपश्चिम प्रथम, काठमाडौंमा उत्कृष्ट १० मा पर्न सफल गायक गिरीको जन्म दैलेख जिल्ला शेर्माकोटको रुवाटी गाउँ हालको डुंगेश्वर गाउँपालिका–७ मा भएको थियो ।

विभिन्न विद्यालयका प्रतियोगिता वा अन्य वार्षिकोत्सवमा भाग लिएका सबै ठाउँमा सधै प्रथम भइरहने गिरी सुर्खेतमा क्रियाशील वागिना समूहमा २०६६ सालमा प्रवेश गरेका थिए । वागिना प्रवेश गरेको १ हप्तामै स्टेज कार्यक्रममा सहभागी हुन थालेको थिए उनी । विगत स्मरण गर्दै उनले भने, ‘अहिले हरेक स्थानीय कार्यक्रममा मलाई माया गर्ने दर्शक तथा आयोजकले बोलाउन र प्रस्तुति दिलाउन बिर्सदैनन् ।’

त्यति धेरै गीत नगाएपनि उनको चर्चा दिन प्रतिदिन चुलिँदै गएको छ । सुर्खेतबाहेक काठमाडौं, दैलेख, बुटवल, नेपालगञ्ज दाङ लगायतका दर्जन बढी जिल्लामा उनले लाइभ प्रस्तुति दिइसकेका छन् ।

‘मलाई धेरै दर्शकले माया गर्नुभएको छ, त्यसैको परिणाम स्वरुप विभिन्न जिल्लामा लाइभ प्रस्तुति दिने अवसर मिलेको छ,’ उनले भने, ‘सोही मायाका कारण म अन्य गीत रेकर्ड गरेर ख्याती कमाउनुभन्दा पनि प्रत्यक्ष गीत गाएर दर्शकलाई प्राकृतिक मनोरञ्जन दिन अभिप्रेरित भएको छु ।’

उनले गाउने हरेक लाइभ प्रस्तुतिमा विभिन्न गीतका टुक्रालाई एकै तालमा गाउने अद्भूत कला छुटाउँदैनन् । त्यस्तो कला कसले सिकायो ? उनी कसैले नसिकाएको बरु आफैले यस्तो गरे कसो होला भनेर परीक्षण गरेको बताउँछन् । त्यसरी गीत गाउन धेरै मेहनत गर्नुपर्छ । उनले भने, ‘प्रत्यक्ष रुपमा गाउनुपर्ने हुँदा शब्दहरू कण्ठ गर्ने, सुरताल मिलाउनेजस्ता धेरै अभ्यास पास गर्नुपर्छ ।’

नेपाली कला संस्कृतिमा मौलिकता हराउँदै गएको उनले बताए । ‘अहिले जोसुकैले पनि ट्रयाकमा गीत गाउने र वाहवाही कमाउने काम गर्दै आएका छन्,’ उनले भने, ‘तर, म भने स्थानीय स्तरमै भएपनि दर्शकलाई मौलिकपनतर्फ लैजाँदै प्रत्यक्ष गीत गाउने व्यवसायमा लागिरहेको छु ।’

धेरै अफर आएपनि उनी काठमाडौं गएनन् । ‘मलाई काठमाडौंदेखि विभिन्न चलेका कम्पनीले विभिन्न आश्वासन दिएर काठमाडौं लैजान नखोजेका होइनन्,’ उनले भने, ‘मलाई काठमाडौं गएर चर्चित हुनुभन्दा मलाई कर्णालीकै दर्शक, स्रोताले चिनिदिए त्यो नै काफी छ भन्ने लाग्यो र प्रस्ताव मैले अस्वीकार गरिदिएँ ।’

सानै उमेरमा नारायण गोपाल, बच्चु कैलाश, भक्तराज आचार्य, गोपाल योञ्जनका पुराना गीत सुन्ने र गाउने बानी परेका गायक गिरीसँग तबला, हार्माेनियम, मादल, खैचडी, गितार, बाँसुरी बजाउने कला छ । तीमध्ये हार्माेनियम बजाउन उनी माहिर छन् भने मादल, अक्टोप्याड लगायत आधुनिक बाजा समेत बजाउन आउँछ उनलाई । 

आफ्नै एक व्याण्ड बनाएका गायक गिरीले संगीत कक्षा समेत दिइरहेका छन् । राष्ट्रिय लोकगीत प्रतिष्ठान शाखाका संगीत विभाग प्रमुखको रुपमा काम गर्दै आएका गायक गिरीले प्रतिष्ठानको हलमा २० जना विद्यार्थीलाई बिहान ७ देखि ८ बजेसम्म निरन्तर पढाउँदै आएका छन् । सुर्खेतमा हाल नृत्य कक्षा पनि सञ्चालनमा ल्याइएको उनले बताए ।

स्वदेशगान, लोक आधुनिक, लोकपप प्रायः गाउने गरेका गायक गिरीले स्थानीय सरकारले स्थानीय कला र संगीतलाई संरक्षण गर्न नचाहेको आरोप लगाए । ‘हामीलाई साना–साना कार्यक्रममा बोलाउने, प्रस्तुति दिन लगाउने, उक्त दिन कलाकारलाई देशका गहना भन्ने तर कार्यक्रम सकिएलगत्तै फर्केर नहेर्ने चलन आएको छ,’ उनले थपे, ‘हामीलाई मनोरञ्जनको साधनको रुपमा मात्रै लिइने गरिएको तीतो यथार्थ हामीसँग छ ।’

कलाकार जुन स्थानमा भएपनि सरकारबाट केही सहयोग पाउन नसकिएको उनले बताए । ‘स्थानीय सरकारले हाम्रो महत्त्व बुझोस् भन्ने हामी सबै कलाकारको मनसाय हो । हामी सरकारलाई सहयोग गर्न परे तयार  छौं । तर, हामीलाई निरन्तर सरकारले सम्झोस्,’ उनले भने, ‘हामीलाई नै प्रयोग गर्ने तर प्रयोग पश्चात् बेवास्ता गर्ने बानी स्थानीय सरकारले त्यागोस् ।’

सरकारले अन्य क्षेत्रलाई विभिन्न कार्यक्रमबाट प्रोत्साहन गर्ने गरेको पाइएपनि कलालाई बेवास्ता गरिएको भन्दै उनले आपत्ति जनाए । ‘भन्ने बेला हामीलाई गहना भन्ने तर वास्ता नगर्ने ?’ उनले भने, ‘कलाकारको पनि जिन्दगी छ भनेर सरकारले कहिले सोच्ला र खै ?’ स्थानीय सरकारले कला साहित्यलाई प्राथमिकता दिएको भए हुन्थ्यो जस्तो उनलाई लाग्छ । 

जन्म दैलेख भएपनि वीरेन्द्रनगरमा बस्दै आएका गायक गिरीले आफूले कर्णालीका अग्रजबाट माया ममता पाएको बताए । ‘मैले अहिलेसम्म सबैबाट माया पाएको  छु,’ उनले भने, ‘कसैबाट धोका पनि पाएको छैन ।’
 

salt training

कमेन्ट गर्नुहोस्