
काठमाडौं–इंग्लिस प्रिमियर लिग फुटबलको शनिबार राति सम्पन्न खेलमा आर्सनल चेल्सीसँग पराजित भएको छ । खेलमा चेल्सीले आर्सनलाई ३–२ गोलले पराजित गरेको हो ।
चेल्सीको यो लगातार दोस्रो जित हो भने आर्सनलको लगातार दोस्रो हार । नयाँ सिजनमा आर्सनलले लय समात्न सकेको छैन ।
२२ वर्षसम्म क्लबको जिम्मेवारी सम्हालेका आर्सेन वेङ्गर बिनाको पहिलो सिजनमा आर्सनलले राम्रो गर्न सकिरहेको छैन । पेड्रोले नवौँ मिनेटमा गरेको गोलबाट घरेलु टोली चेल्सीले अग्रता लियो । २० औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि आर्सनल खेलमा फर्कियो ।
३७ औँ मिनेटमा हेनरिक एमखितारियन तथा ४१ औँ मिनेटमा एलेक्स इवबीले गोल गरेपछि पहिलो हाफमा २–२ को बराबरी भयो । तर ८१ औँ मिनेटमा मार्कस एलोन्सोले गोल गर्दै चेल्सीलाई ३–२ को जित दिलाए ।
प्रिमियर लिग अन्तर्गत राति नै भएका अरु खेलमा लेस्टर सिटीले वुल्भसलाई २–० तथा बोर्नमाउथले वेष्ट ह्यामलाई २–१ ले हरायो ।