१५ असार २०८३, सोमबार

बेसारले ल्याएको खुशी : पहिले हातमुख जोर्न समस्या थियो, अहिले बचत गर्छिन् कृष्णा

भदौ ३, २०७५
बेसारले ल्याएको खुशी : पहिले हातमुख जोर्न समस्या थियो, अहिले बचत गर्छिन् कृष्णा

सुर्खेत – श्रीमान आँखा देख्दैनन् । एक छोरी साथमा छिन् । अन्य आयस्रोत केही छैन । जीविका धान्नै धौधौ थियो । तर अहिले आएर भने बेसार खेतीले राहत दिएको छ ।

यो कथा होइन, वास्तविकता हो सुर्खेतकी कृषक कृष्णा थापाको । उनकी जेठी छोरीको बिहे भइसकेको छ ।

'बेसार खेती गर्न लागेको ५ वर्ष भयो,' उनले भनिन्, 'पहिले आर्थिक अवस्था कमजोर हुँदा मन लागेको लाउन र खान सकिँदैनथ्यो, अहिले सहज छ ।'

बेसार खेतीबाटै भएको केही आम्दानी उनले स्थानीय सम्झाना बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा गर्न सकेकी छिन् । कान्छी छोरीलाई स्थानीय जनज्योति माध्यमिक विद्यालयमा पढ्छिन् ।

श्रीमानको शारीरिक अवस्था कमजोर भएका कारण उनी विदेश जान पनि सकिनन् । आर्थिक अवस्था नाजुक रहिरह्यो ।

अन्तत: बेसार उनको जीवनमा सहारा बनेर आयो ।

उनले लोकान्तरसँग भनिन्, '५ वर्ष पहिले रुनेडाँडा सामुदायिक वन उपभोक्ता समितिले दिएको बेसारको बिउले मेरो जीवन नै बदलिएको छ ।'

कृष्णाले तीन रोपनी जग्गामा बेसार खेती गरेकी छन् । उनीसँग पर्याप्त जग्गा पनि छैन ।

कृष्णाले गत वर्ष बेसारकै आम्दानीबाट सबै खर्च कटाएर १० हजार रुपैयाँ जम्मा गर्न सकिन् भने सोही वर्ष तरकारी खेतीबाट थप १५ हजार बचाउन सकिन् ।

यति मात्रै होइन, अहिले उनको घरमा कुखुराहरू समेत देख्न पाइन्छ ।

'मलाई उपभोक्ता समितिले सहयोग नगरेको भए सायद मेरो जीवन कष्टकर नै हुन्थ्यो होला,' भावुक बन्दै कृषक थापाले भनिन्, 'मेरा लागि उहाँहरूको त्यो सहयोग बरदान सावित भयो ।'

उनी आगामी दिनमा थप जमिनमा पनि बेसार खेती गर्ने योजनामा छिन् ।

स्थानीय सरकारले निःशुल्क रूपमा बिउबिजन तथा मल उपलब्ध गराइदिए सहज हुन्थ्यो भन्ने उनको चाहना छ ।

'स्थानीय सरकारले हामीलाई आवश्यक पर्ने मल तथा बिउबिजनहरू उपलब्ध गराइदिएको भए अझै ठूलो राहत मिल्थ्यो,' उनले भनिन् ।

सरकारले  त्यति सहयोग गरिदिएको खण्डमा आफूहरूलाई बजार अभाव पनि नहुने र  त्यसले जीवनमा ठूलो परिवर्तन ल्याउने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्