०१ साउन २०८३, शुक्रबार

सुनवल बन्यो पहिलो 'बालमैत्री' स्थानीय तह, प्रदेश नै बालमैत्री बनाउने मुख्यमन्त्री पोखरेलको उद्घोष

सुनवल बन्यो पहिलो 'बालमैत्री' स्थानीय तह, प्रदेश नै बालमैत्री बनाउने मुख्यमन्त्री पोखरेलको उद्घोष

परासी –पश्चिम नवलपरासीको सुनवल नगरपालिकालाई नेपालकै पहिलो बालमैत्री स्थानीय तह घोषणा गरिएको छ ।

आइतवार भूमहीमा आयोजना गरिएको कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सुनवलाई नेपालकै पहिलो बालमैत्री स्थानीय तह घोषणा गरेका हुन् ।

२०७२ जेठ ३२ गते सुनवल नगरपालिका नेपालमै पहिलो बालमैत्री नगर घोषणा भएको थियो । राज्य पूनर्संरचनापछि तत्कालीन रामनगर गाविसको पूरै वडा र धुरकोट गाविसको वडा नं. ६ समावेश भएको थियो । साविक १० वटा

वडाहरू रहेको नगरपालिकामा नयाँ गाभिएर बनेका वडामा ११, १२ र १३ मा समेत बालमैत्रीका लागि आवश्यक पर्ने सबै सूचकहरू पूरा भएपछि मुख्यमन्त्री पोखरेलले पहिलो बालमैत्री स्थानीय तह घोषणा गरेका हुन् ।

बालमैत्री स्थानीय तह घोषणा भएपछि नेपालका स्थानीय तहहरूले सुनवललाई सिकाइ केन्द्रको रूपमा लिन सक्ने गरी काम अघि बढाइएको नगरप्रमुख भीमबहादुर थापाले बताए ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिले तय गरेका सेवा प्रभावसम्बन्धी २७ वटा र संस्थागततर्फ १२ गरी कुल ३९ वटा सूचक र १६ वटा खुड्किलाहरू पूरा गर्नुपर्ने प्रावधान छ ।

ती सूचकसँगै नगरपालिकाले थप तीनवटा सूचक तयार गरी बालमैत्रीका लागि डेढवर्ष अघिदेखि कार्यक्रम सञ्चालन गरेको नगरप्रमुख थापाले बताए । नगरपालिका आफैंले तय गरेका सूचकमा विद्यालयमा अपाङ्मैत्री र्‍याम भएको हुनुपर्ने, आयोडिनयुक्त नुनको प्रयोग हुनुपर्ने र लागूपदार्थ दुव्र्यसनी न्युनिकरणजस्ता तीनवटा सूचक रहको थिए । कुल ४२ वटा सूचकहरू पूरा भएपछि बालमैत्री स्थानीय तह घोषणा गरिएको थापाले बताए ।

बालमैत्री नगर घोषणापछि त्यसको दीगोपनाका लागि रणनीतिक योजना निर्माण गरिसकिएको र वडादेखि नगर स्तरीय समिति गठन गरेर परिचालन गरिएको थापाले कार्यक्रममा जानकारी दिए । नेपालका सबै स्थानीय तहले बालमैत्री स्थानीय शासनको विषयमा अध्ययन, अवलोकन तथा अनुसन्धान गर्न सहजता ल्याउन बालमैत्री सिकाइ केन्द्रको समेत निर्माण गरेको थापाले बताए ।

बालमैत्रीपछि अब नगरलाई नेपालकै पहिलो महिलामैत्री घोषणा गर्ने उद्देश्य अनुरूप कार्यक्रम सञ्चालन गरिएको पनि थापाले जानकारी दिए । ६८ हजार ८२ जनसंख्या रहेको नगरपालिकामा २८ हजार २ सय ६० जना बालबालिका छन् ।

प्रदेश ५ लाई पहिलो बालमैत्री प्रदेश बनाउँछौं – मुख्यमन्त्री पोखरेल

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश ५ लाई नेपालकै पहिलो बालमैत्री प्रदेश बनाउने बताए । अन्य प्रदेशको तुलनामा प्रदेश ५ धेरै क्षेत्रमा अगाडि रहेको जनाउँदै बालबालिका र महिलालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । सुनवल नगरपालिका देशमै उत्कृष्ट स्थानीय तह बन्न सफल हुनुले पनि प्रदेश ५ अन्य प्रदेशको तुलनामा अघि छ भन्ने कुरा देखाएको उनको भनाइ थियो ।

घोषणापछि त्यसको दिगोपनाका लागि नगरपालिका क्रियाशील हुनुपर्ने बताउँदै प्रदेशले सुनवललाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउने समेत बताए ।

स्थानीय तहमा बढेको करबारे मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले कर नबढाएको स्पष्ट पारे । उनले विगतमा लाग्दै आएको कर समेत प्रदेशले हटाएको बताउँदै जनताको भावना र जीवनस्तरको तुलना नगरी कर लगाउन नहुनेमा जोड दिए । 

प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको उनले बताए । जमिन नहुनेका लागि जमिन उपलब्ध गराएर कृषिमा लाग्न अभिप्रेरित गर्ने गरी प्रदेशले काम गरेको उनले बताए । उनले जमिन नहुनेहरूको लगत संकलन गर्न पनि सबै स्थानीय तहलाई निर्देशन दिए । ‘बाँझो राखिएका जग्गासँगै जमिन नभएकाहरूको पनि लगत संकलन गरेर प्रदेशमा पठाउनुस्, सरकारले त्यस्ता व्यक्तिलाई खेती गर्नका लागि जग्गा उपलब्ध गराउछ,’ मुख्यमन्त्री पोखरेलले भने ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेश सरकार प्रवक्ता बैजनाथ चौधरीले सुनवलले गरेको नमूना काम अब प्रदेशका सबै स्थानीय तहले लागू गर्नुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्