
नेपालमा इसाई धर्मका प्रचारकहरू यहाँका सनातन वैदिक मत र बौध्दमतका अनुयायीहरूलाई ललाई-फकाई आफ्नो धर्ममा धर्मान्तरण गरिरहेका छन् । तर यस्ता प्रचारक र पादरीहरू आफ्नै कृस्टियन (इसाई) धर्म सङ्कटमा परिरहेको कुरामा कति जानकार होलान् ?
अहिले इसाई मतमध्येको क्याथोलिक सम्प्रदायका संसारभरिकै अगुवाहरू छटपटाहटमा परेका छन् र यस घटना-विकासले सिङ्गो कृस्टियन जगत्को जग हल्लिएको छ । क्याथोलिक चर्च ‘आध्यात्मिक सङ्कट’ परेको छ---यो स्वीकारोक्ति हो कार्डिनल उपाधि भएका डानियम डिनार्डो (टेक्सास) को संयुक्त राज्य अमेरिकाभरका विशपहरूको संगठनसित सम्बध्द छन् ।
क्याथोलिक सम्प्रदायका सर्वोच्च धर्मगुरु हुन् पोप जो इटालीको राजधानी नजिकै रहेको ‘भ्याटिकन राज्य’बाट विश्वभरिका एक अर्ब क्याथोलिक मतका मानिसलाई प्रभावित गर्छन्, गरिरहेका छन् ।
सन् २०१३ मा पोप पदमा आसीन फ्रान्सिस अहिले सतहमा आएको ‘आध्यात्मिक सङ्कट’ को सामना गर्न सकिरहेका छैनन् । निन्दा, आलोचनाको तारो भएका छन् । यो विषय विश्वभर छरिएर रहेका क्याथोलिक गिर्जाघर (चर्च) हरूमा सञ्चालक पादरीहरू बाल-यौन दुर्व्यवहारमा संलग्न भएका घटनाहरू सार्वजनिक हुन थाल्नुसित गाँसिएको छ । र, गए साता अमेरिकाको पेन्सीलभेनिया राज्यका चर्चबारे निस्केको छानबीन प्रतिवेदनले इसाई पादरीहरूको अनैतिक यौन गतिविधि कुन नग्न र घृणित तहमा पुगेको रहेछ त्यो छताछुल्ल भएर बाहिर आएको छ । तीनशय पादरीहरूले एक हजारभन्दा बढी बाल-बालिका (जसको पहिचान खुल्न सक्छ) माथि यौन दुर्व्यवहार गरेको ठहर पेन्सीलभेनिया राज्यका महान्यायाधिवक्ता जोश शपिरोको रेखदेखमा भएको अनुसन्धानले देखाएको छ । अनुसन्धान १८ महिनामा सम्पन्न भएको हो । प्रतिवेदन झण्डै ९०० पृष्ठमा छ ।

चर्चित घटनामा साह्रै कलिला बालक र बालिका पादरीहरूको ज्यादतीका शिकार भएका थिए । जबरजस्ती करणीको क्रममा कुकर्मी पादरीहरूले तिनलाई मुख मैथुन, मलद्वार मैथुन र योनी मैथुनको शिकार तुल्याएका थिए । तिनले १८ महिनाका बच्चालाई पनि छोडेका थिएनन् । र, ७० वर्ष अवधिसम्म यस्तो दुष्कर्म निर्वाध चलिरह्यो । किनभने चर्चको मामिलामा राज्यका निकायहरूले थाहा पाएर पनि हात हाल्दैनथे । सन् २००२ पछि मात्र यस्ता घटना छिटफुट रूपमा प्रहरीको जानकारीमा आउन थालेका हुन् । चर्च सञ्चालकहरू नै स्वीकार गर्छन् ---यस्तो अनैतिक कार्य आज पनि रोकिएको छैन । माथ्लो तहका चर्चका पादरीहरूले सदैव यस्ता पापकर्महरूको ढाकछोप गरिरहे । धर्माधिकारीहरू नै पापी काममा फसेपछि के लाग्दो रहेछ र ।
अमेरिकी प्रतिवेदन सार्वजनिक भएपछि पोप असाधारण लज्जाबोधमा परे । दुई दिनसम्म उनको राज्य संयन्त्र चूप्प रह्यो । ४८ घण्टापछि मात्र (गएको बिहिवार) पोपका प्रवक्ताले भ्याटिकनको प्रतिकृया दिएका थिए । अमेरिकी टेलिभिजन सीएन्एन् ले यो ढिलाइमै पनि प्रश्नचिन्ह लगायो । किनभने यो पनि ढाकछोपकै दुस्साहसको क्रमजस्तो देखियो । वर्तमान पोप (फ्रान्सिस) ले यसै वर्ष अर्थात् सन् २०१८ को शुरूमा दक्षिण अमेरिकी मुलुक चिलीमा पादरीका यस्तै अनैतिक कृयाकलाप विषयको शिकायत हुँदा उनले स्थानीय पादरीको बचाउ गरेका थिए, तर त्यस कार्यको चर्को विरोध भएकोले पछि माफी माग्न पुगेका थिए ।
यस्तो विवादमा अष्ट्रेलियाको क्याथोलिक चर्च पनि परेको छ ।
जे होस्, अन्ततोगत्वा पेन्सीलभेनिया प्रतिवेदनबारे पोपका प्रवक्ताले पोप ‘ लज्जित र दु:खी’ (Shame and sorrow) भएको जानकारी दिए । नाबालिग केटा र केटीहरूको यौनशोषणको भर्त्सना गरिएको छ ; पोप पीडितहरूको पक्षमा रहेको जानकारी दिएइको छ । तर वर्षौं पुराना मामिलामा कस्तो कारवाही भएर के क्षतिपूर्ति हुने हो त्यसबारे पोपको राज्य चुप छ ।

यसबीच, पोपका आलोचकहरू उनको प्रतिकृया प्रत्यक्ष रूपमा किन आउन सकेको छैन भनेर आश्चर्य मानिरहेका छन् । अमेरिकी विशपहरूले पोपको राज्य भ्याटिकनको नेतृत्वमा पेन्सिलभेनिया लगायतका घटनाको बेग्लै छानबीन गराउने माग प्रस्तुत गरेका छन् । अहिलेको प्रतिवेदनमा नाम परेका कुनै पादरीले पनि पदबाट राजीनामा गरेका छैनन् ।
अर्को साता पोप फ्रान्सिस आयरल्याण्डको यात्रामा जाँदैछन् । त्यहाँ पनि उनले बाल-यौन दुराचारका घटना र शिकायतहरूको सामना गर्नुपर्नेछ । सन् २०१३ मा पोपको पदमा निर्वाचित हुँदा फ्रान्सिसले चर्चमा हुने गरेका अनैतिक कार्यबारे ‘निर्णायक कारवाही’ गर्छु भनेका थिए तर यतिञ्जेलका गतिविधिले उनबारे धेरै मानिस आश्वस्त हुन सकिरहेका छैनन् । पेन्सीलभेनियाका महान्यायाधिवक्ताले जुलाईमा पोपलाई एक गोप्य पत्र पठाएका थिए, तर पोपले त्यसको जवाफ आजसम्म दिएका छैनन् ।