
काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले कालीमाटी तरकारी बजारको अनुगमन गर्ने क्रममा दुईवटा ट्रक नियन्त्रणमा लिएपछि व्यवसायी तथा विचौलियाको समूहले उल्टै अनुगमनमा गएको टोलीलाई थुनेको छ । उनीहरुले अनुगमन टोलीलाई बजारको गेटबाट बाहिर आउन रोकेका थिए ।
उपत्यका बाहिरबाट फर्सी र काक्रो लिएर आएका दुई ट्रकसँग बिलविजकलगायतका कागजात नभेटिएपछि विभागको अनुगमन टोलीले सोमबार बिहान नियन्त्रणमा लिएको थियो । गाडी नियन्त्रणमा राखेर यसबारे अनुसन्धान भइरहेको छ ।
विभागको टोली बिहान ३ बजे अनुगमनका लागि कालीमाटी पुगको थियो । सोक्रममा उसले अन्य पसल तथा सवारीहरुको पनि अनुगमन गरेको थियो । कालिमाटीमा अनुगमन टोलीलाई व्यवसायी तथा विचौलियाको समूहले बजारभन्दा बाहिर आउन नदिएको हाे ।
करिब एक दर्जनको संख्यामा रहेका अनुगमन टोलीलाई बजारमा रहेका विचौलिया र व्यवसायीको एक समूहले रोकको थियो । अनुगमन टोलीलाई रोकेपछि सुरक्षा बढाइएको छ ।
अहिले व्यवसायी र अनुगमन टोलीबीच वार्ता जारी छ । व्यवसायीले किसानबाट विल कसरी ल्याउने भन्दै प्रश्न गरेका छन् । किसानले गाडी छोड्न भनेको तर अनुगमन टोलीले कानूनी प्रक्रियाअनुसार गाडी छाड्ने बताएको कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अध्यक्ष तेजबहादुर सुवेदीले लोकान्तरलाई बताए ।