
काठमाडौं – गम्भीर आर्थिक संकटको सामना गरिरहेको देश ग्रीसले पाएको युरोजोन बेलआउट प्याकेज सोमवार सकिएको छ । ग्रीसले विगत आठ वर्षदेखि बेलआउटको फाइदा लिइरहेको थियो ।
तेस्रो तथा अन्तिम ठूलो लोन प्रोग्राम सकिएपछि ग्रीस आर्थिक संकटबाट निस्कने पथमा हिँडेको मानिएको छ ।
ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले आर्थिक रूपमा अस्तव्यस्त भएपनि आफ्नो गोडामा उभिन सक्ने सामर्थ्य ग्रीसले देखाएको बताएका छन् ।
लगभग आठ वर्षको आर्थिक संकट, सरकारी खर्चमा कटौती र ऋणपछि यो स्थिति आएको हो ।
दी इन्डिपेन्डेन्ट पत्रिकाका अनुसार, दशकौंसम्म ग्रीसमा यो आर्थिक संकटको असर पर्ने देखिन्छ । उसले अझै २८९ अर्ब पाउन्ड ऋण चुक्ता गर्न बाँकी छ र त्यसको ब्याज पनि छँदैछ ।
युरोजोनका ऋणदातासँग लिइएको रकम ग्रीसको कुल गार्हस्थ्य उत्पादनभन्दा १८० प्रतिशत बढी छ ।
एथेन्सले सार्वजनिक वित्त लक्ष्यलाई पूरा गर्छ कि गर्दैन भनी विज्ञहरूले प्रत्येक त्रैमासिकमा चेक गर्छन् । ऋण नतिरिएसम्म यो चेक जारी रहन्छ ।
ग्रीसको ऋण सन् २०६० मा बल्ल समाप्त हुनेछ ।
तीन दशकसम्म लगातार सरकारहरूले पेन्सन र अन्य सामाजिक उद्देश्यको पूर्तिका लागि ऋण लिँदालिँदा ग्रीसमा आर्थिक संकट गहिरियो । अनि सरकारले करमा ठूलो छुट दियो र बजेट घाटामा ध्यान दिएन ।
ग्रीस आर्थिक संकटमा परेको कुरा सन् २००९ को अक्टोबर महिनामा सार्वजनिक भयो । त्यतिखेर सरकारले बजेट घाटा पहिले बताएभन्दा निकै धेरै रहेको स्वीकार ग–यो ।
यो संकटका कारण लगानीकर्ताहरूलाई ठूलो झड्का लाग्यो र उनीहरूले ग्रीसलाई तिर्न सकिने ब्याजदरमा ऋण दिन अस्वीकार गरे । त्यसपछि ग्रीस सरकारले आर्थिक संकटबाट बच्नका लागि युरोजोनका देश र आईएमएफबाट
ऋण लियो ।
युरोजोनले ग्रीसलाई कडा शर्तमा मात्र ऋण दिएको थियो, जस्तै – घाटा कम गर्नुपर्ने, करवृद्धि गर्नुपर्ने र खर्च कटौती गर्नुपर्ने । अनि कर संकलन बढाउनुपर्ने र देशमा व्यापारको वातावरण राम्रो बनाउनुपर्ने पनि भनिएको थियो ।
एजेन्सी