
कास्की – कृषि, भूमि व्यवस्था मन्त्री चक्रपाणि खनालले कृषि उत्पादन बढाउन सरकारले कृषकसम्म पुग्ने वातावरण नभएको बताएका छन् ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पुनर्संरचना सम्बन्धी कास्कीको लुम्लेमा जारी भेलामा बोल्दै मन्त्री खनालले तत्काल कृषकलाई कृषि तालिमको अवधारणा बनाउन सम्बन्धित निकायलाई निर्देशन दिए ।
कृषि वैज्ञानिकको संस्था नार्कका विभिन्न शाखा महाशाखाले गरेको अनुसन्धान किसानमुखी नभएको गुनासो गर्दै मन्त्री खनालले किसानसम्म पुग्नका लागि हरेर प्रदेशमा कृषि आवास स्थापना गरी देशभरिका कृषकलाई हरेक किसिमका तालिममा सहभागी गराउने वातावरण बनाउन नार्कलाई निर्देशन दिए ।
उनले व्यंग्य गर्दै भने, ‘कृषकहरू समयमा नुहाउँदैनन्, गन्हाउँछन् । हामी किसानसँग बस्न सक्दैनौं । त्यसकारण उनीहरूसँग हाम्रो सम्बन्ध जोडिन सकेन । अब हामीले कम्प्रमाइज गर्नुपर्छ । हरेक प्रदेशमा कृषि आवास स्थापना गरौ । यसको अवधारणापत्र तत्काल बनाइहाल्नोस् ।’
भेलामा नार्कको पुनर्संरचनाको आवश्यकता, कानूनी व्यवस्था र कृषि अनुसन्धान मानार्थ विश्वविद्यालय स्थापनाबारे छलफल भइरहेको छ । भेलामा कृषि मन्त्रालय, गण्डकी प्रदेश मन्त्रालय, देशभरिका कृषि वैज्ञानिक तथा पत्रकारको उपस्थिति रहेको छ ।
२०४७ सालमा स्थापना भएको नार्कका १७ वटा महाशाखा र ६२ वटा कार्यालय रहेका छन् । नार्कले हालसम्म २ सयभन्दा बढी बालीको सिफारिस, ३ सय १६ वटा बालीको विकास र १४ हजार बालीको स्रोत संरक्षण गरेको छ ।