
काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा हालै सरुवा भएर आएका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले काठमाडौंमा अझै गुन्डागर्दी कायम रहकाले गुन्डागर्दी नियन्त्रण आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।
लामाले आर्थिक पारदर्शीतासहित सेवा प्रदान गर्ने र भित्रि रुपमा काय रहेको गुन्डागर्दीलाई अन्त्य गर्ने आफ्नो प्रमुख उद्देश्य रहेको पनि बताएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुखको रुपमा शुक्रवारदेखि जिम्मेवारी सम्हालेका लामाले सोमवार सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्दै काठमाडौंमा शान्ति सुरक्षा कायम गर्न नयाँ तरिकाले काम गर्ने बताए ।
‘काठमाडौंका दादाहरु शान्त भएका छन् । गुन्डागर्दी छाडेका छैनन्,’ एसएसपी लामाले भने, ‘अहिले पनि उनीहरु भित्रभित्रै पैसा असुल्ने, धम्की दिने गतिविधिमा संलग्न छन् । उद्योगी व्यवसायीसँग सहकार्य गरेर भित्रि रुपमा गुन्डागर्दीमा संलग्नहरु कानूनीमा दायरमा ल्याइनेछ ।’
एसएसपी लामाले तस्करी र लागू औषध नियन्त्रण पनि आफ्नो प्राथमिकतामा रहेको बताए । अन्तर्राष्ट्रिय विमानस्थलबाटै विभिन्न प्रकारका तस्करीका घटना हुने गरेको उल्लेख गर्दै एसएसपी लामाले सरकारकै योजनाअनरुप तस्करी नियन्त्रणमा प्रभावकारी कदम चालिने बताए ।