
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका सबै केन्द्रीय पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमवार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पदमुक्त गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । अब पार्टीका पदाधिकारी नयाँ ढंगबाट पुनर्गठन गरिने छन् ।
पार्टीले सार्वजनिक गरेको निर्णयमा लेखिएको छ, ‘राप्रपाको संशोधित विधानको भावना अनुरुप पार्टीलाई अघि बढाउन र केन्द्रीय पदाधिकारीहरू नयाँ ढंगबाट पुर्नगठन गर्ने प्रयोजनका लागि हाल कायम रहेका पार्टीका सबै केन्द्रीय पदाधिकारीहरूलाई आजकै मितिबाट पदमुक्त गरिएको छ ।’
गत जेठमा वीरगञ्जमा सम्पन्न केन्द्रीय परिषद् बैठकको निर्देश बमोजिम विधान संशोधन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित उपसमितिले बैठकमा प्रतिवेदन प्रस्तुत गरेको छ । उपसमितिले प्रस्ताव गरेको प्रतिवेदन संशोधन सहित पारित गरिएको जनाइएको छ ।
प्रतिवेदनले पार्टीको महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यबाट चयन हुने व्यवस्था गरेको छ । केन्द्रीय कार्य समिति २ सय ७७ सदस्यीय हुने, प्रत्येक जिल्लाबाट कम्तिमा १÷१ जनाको केन्द्रीय कार्यसमितिमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता हुने गरी निर्वाचन हुने तथा विधानमा उल्लेख भएका पदाधिकारीमध्ये ५० प्रतिशत महाधिवेशनबाट निर्वाचित हुने र ५० प्रतिशत अध्यक्षबाट मनोनित हुने व्यवस्था गरिएको छ ।
राप्रपाले देशका सबै प्रदेश र स्थानीय तहमा पार्टीको संगठनलाई सुदृढ ढंगले पुर्याउन विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । ‘यस क्रममा संगठन विभाग र हिन्दूराष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण अभियान सम्बन्धी २ छुट्टाछुट्टै कार्ययोजनालाई बैठकले अनुमोदन गरेको छ,’ प्रमुख श्रेष्ठद्वारा सार्वजनिक निर्णयमा लेखिएको छ ।