२५ असार २०८३, बिहीबार

मुख्य समाचार : सरकार लाचार कि तरकारी माफिया शक्तिशाली?, फेसबुक र ट्वीटरका विज्ञापनमा कर लगाउन निर्देशन

मुख्य समाचार : सरकार लाचार कि तरकारी माफिया शक्तिशाली?, फेसबुक र ट्वीटरका विज्ञापनमा कर लगाउन निर्देशन

काठमाडौं– सोमबार बिहान ३ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली कालीमाटी फलफूल तथा तरकारी बजार पुग्यो । शाखा अधिकृत दीपकराज पोखरेलको संयोजकत्वमा गएको १३ सदश्यीय अनुगमन टोलीको उद्देश्य थियो, ‘किसानले उत्पादन गरेको ठाउँदेखी कालीमाटीसम्म आईपुग्दा कति ठाउँमा बिचौलिया लाग्दारहेछन ? र कती मुल्य बढाइँदोरहेछ ?’

अनुगमन टोली कालीमाटी पुग्दा बाहिर जिल्लाबाट आएको सामान झार्ने काम भईरहेको थियो । टोलीले ना ४ च ६६३४ र बा ५ च ९६४ नम्बरको टाटा मोबाईल गाडीबाट झार्दै गरेको सामानको बीलबीजकलगायत कागजात माग्यो ।

तर उक्त सामानको कुनै पनि कागजात नभटिएपछि अनुगमन टोलीले प्रहरी प्रशासनको सहयोगमा उक्त गाडी नियन्त्रणमा लियो । त्यतिबेलासम्म बजारमा ठूलो संख्यामा तरकारी र फलफूल व्यवसायीहरु जम्मा भइसकेका थिए । अनुगमन टोलीसँग उनीहरुको बाझाबाझ शुरु भइसकेको थियो । टोलीले २ वटा गाडीको बाहेक अन्य गाडीमा चेकजाँच गर्नै सकेन ।, नेपाल समाचारपत्रमा छ ।

नयाँ पत्रिकाका अनुसार अनुगमन समितिले कालिमाटीमा तरकारी ल्याइने मुख्य जिल्लाका किसानको खेतमै पुगेर अनुगमन गरेको थियो । धादिङ, मकवानपुर, ललितपुरलगायत जिल्लाका किसानले खेतबाट बेच्ने तरकारीको मूल्य र कालिमाटी बजारमा उही तरकारीको मूल्यमा व्यापक अन्तर भेटिएको छ । 

‘कृषकको खेतबाट १८ रुपैयाँदेखि ३५ रुपैयाँसम्ममा काउली बेचिएको पाइयो,’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकृत दीपकराज पोखरेलले भने, ‘त्यही तरकारी कालिमाटी बजारमा आइपुगेपछि १ सय १० रुपैयाँ प्रतिकिलोसम्म बेचिएको पाइएको छ ।’

किसानको खेतदेखि तरकारी बजारसम्म आइपुग्दा तरकारीको मूल्य चारगुणासम्म बढेको पाइएको अनुगमन टोलीमा सहभागी उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । विगत डेढ दशकदेखि कालिमाटीलगायत तरकारी बजारको अनुगमन गर्ने गरिएको छ । अनुगमनका क्रममा अनेक बेथिति देखिने पनि गरेका छन् । तर, तरकारी उत्पादक किसान र उपभोक्ता ठगिने अवस्थाको अन्त्य अझै हुन सकेको छैन ।

संसदबाट बिम्स्टेक महासन्धि अनुमोदित
प्रतिनिधिसभाबाट बिम्स्टेक महासन्धि अनुमोदित भएको छ । अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोग सम्बन्धी बिम्स्टेक महासन्धिलाई अनुमोदन गरियोस् भनी गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको प्रस्ताव बैठकले बहुमतले अनुमोदन गरेको हो । 

बैठकले अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको ‘भुक्तानी तथा फछ्र्याेट विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले प्रस्तुत गरेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गरेको ‘राहदानी विधेयक, २०७५ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रस्तुत गरेको ‘उपभोक्ता संरक्षण विधेयक, २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । 

फेसबुक र ट्वीटरमा हुने विज्ञापनमा कर लगाउन सरकारलाई निर्देशन
फेसबुक र ट्वीटरलगायतका सामाजिक सञ्जालमार्फत आर्थिक कारोबार भइरहेको भन्दै संसदीय समितिले करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिइएको छ । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकले फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा विज्ञापन गरे बापत ठूलो रकम बाहिरिएको देखिएकोले त्यसलाई नियमन गरी करको दायरामा ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देश गरेको हो । 

पूर्वराजदूत झाको हत्या आंशकामा तीन कामदार पक्राउ
पूर्वराजदूत केशव झाको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ । प्रहरीले अनुसन्धानका लागि तीन जनालाई पक्राउ समेत गरेको छ । प्रहरीले घटनाबारे छानबिन गर्न झाकै घरमा काम गर्ने माली, भान्से र गार्डलाई पक्राउ गरेको हो । झा सोमबार बिहान बबरमहलस्थित निवासमा मृत फेला परेका थिए ।

उता, बलात्कार पछि हत्या भएको २४ दिनपछि कञ्चनपुरको भीमदत्त नगरपालिका २ की निर्मला पन्तको हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा भीमदत्त नगरपालिका १९ का दिलिप सिंह बिष्टलाई पक्राउ गरेको हो । 

देशभर तरकारी र फलफूल नबेच्ने महासंघको घोषणा
नेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघले मंगलबारदेखि अनिश्चितकालका लागि देशभर फलफूल तथा तरकारीको आपूर्ति र बिक्री ठप्प पार्ने निर्णय गरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजारमा सोमबार बिहान सरकारले अनुगमनको क्रममा पक्राउ गरेका ब्यापारीलाई रिहा गर्नुपर्ने माग राख्दै महासंघले देशभरका बजारमा फलफूलको आपूर्ति र बिक्री ठप्प पार्ने निर्णय गरेको हो ।

मुलुकी संहिताका व्यवस्थाहरू खारेजी गर्न सर्वोच्चमा रिट
भदौ १ गतेदेखि लागू भएको मुलुकी संहिताका केही व्यवस्था संविधानसँग बाझिएकाले खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । संहिता लागू भएको चौथो दिनमै उक्त संहिता विरूद्ध रिट दर्ता भएको हो ।
रिटमा तस्बिर अनुमति बिना खिच्न नपाउने, भिख माग्न नपाउने, डाक्टरहरुले उपचार गर्दा बिरामीको मृत्यु भएमा सजाय गर्ने लगायतका व्यवस्था संविधानसग बाझिएकाले खारेज हुनुपर्ने माग गरिएको छ ।

यसैबीच, नेपाल पत्रकार महासंघले पनि नयाँ मुलुकी संहितामा प्रेस स्वतन्त्रताविरोधी केही प्रावधान रहेको भन्दै त्यसविरुद्ध चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।  महासंघले मुलुकी संहितालाई पूर्ण प्रेसमैत्री बनाउन माग राख्दै केन्द्र, प्रदेश र जिल्लास्तरमा आगामी भदौ २२ गतेसम्मका लागि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 

७ जना हतियार कारोबारी पक्राउ
काठमाडौंको तीनकुनेस्थित एक रेष्टुरेण्टबाट एक थान पेस्तोल सहित सात जना हतियार कारोबारी पक्राउ परेका छन् । तिनकुने स्थित ए–वान क्याफेबाट पक्राउ परेका हतियार कारोबारीको साथबाट प्रहरीले एक थान पेस्तोल, सोही पेस्तोलको म्यागेजिन र चार राउण्ड गोली बरामद भएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

कार्यदललाई प्रतिवेदन बुझाउने समय पुनः थप
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले प्रदेश र जिल्ला तहको एकीकरणका लागि गठित कार्यदलहरूलाई यही भदौ ७ गतेभित्र अनिवार्यरूपमा प्रतिवेदन बुझाउन निर्देश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सबै प्रदेश तथा जिल्लामा गठित कार्यदललाई अन्तिम समयका रूपमा भदौ ७ गतेको सीमा तोकेको हो । 

यसअघि गत साउन २५ गतेसम्मको उक्त समयसीमा साउन मसान्तसम्म सारिएकामा सोमबार अन्तिम समयसीमा तोकिएको थियो ।     नेकपामा प्रदेश नं १ र २ का एकीकरणसम्बन्धी कार्यदलका प्रतिवेदन र कतिपय जनसङ्गठनका एकताको प्रतिवेदन आउन बाँकी छ । 

राप्रपाः नयाँ विधान अनुमोदित
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय पदाधिकारी नयाँ ढंगबाट पुनःगठन गर्ने प्रयोजनका लागि हाल कायम रहेका पार्टीका सबै केन्द्रीय पदाधिकारीलाई पदमुक्त गरिएको छ । संशोधित विधानको भावनानुरुप पार्टीलाई अघि बढाउन पदाधिकारी तथा केन्द्रीय समिति विघटन गरिएको हो । 

केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संशोधित विधान परिमार्जनसहित अनुमोदन गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए । नयाँ विधानअनुसार पार्टीको महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यबाट चयन हुने व्यवस्था गरिएको छ ।  केन्द्रीय कार्यसमिति भने २७७ सदस्यीय हुने व्यवस्था छ ।

अदालतमा उपस्थित गराउन आदेश
सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द  ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका  प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउने आदेश जारी गरेको छ । 

न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले विश्वकर्मालाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गरेको हो । विश्वकर्मालाई यही भदौ १ गते न्यायाधीशहरू चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतको आदेश आएकै दिन राति पुनः विश्वकर्मा पक्राउ परेका थिए । 

राष्ट्रपतिद्वारा विज्ञ नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली संस्कृति तथा राष्ट्रिय सुरक्षाका क्षेत्रमा सुझाव र सल्लाह दिने गरी दुई विज्ञ नियुक्त गर्नुभएको छ । नेपाली कला तथा संस्कृति, भाषा, साहित्य, इतिहास, पुरातत्व र सांस्कृतिक सम्पदाका  क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा कास्की जिल्ला पोखरा महानगरपालिका–७ निवासी माधव शर्मालाई नियुक्त गर्नुभएको छ । 

त्यस्तै राष्ट्रिय सुरक्षा, प्राकृतिक सम्पदा र वातावरणसम्बन्धी क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा रथी नेत्रबहादुर थापा (अ.प्रा) लाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

दुई कोरियाका परिवारका सदस्यबीच पुनर्मिलन
उत्तर र दक्षिण कोरियाका दर्जनौं परिवारबीच पुर्नमिलन कार्यक्रम शुरु भएको छ । गत जुनमा दुई कोरियाबीच भएको सहमति अनुसार द्वन्द्वका कारण बिछोडिएका परिवारबीच पुनर्मिलन सुरु भएको हो । 
सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धका बेला छुटिएका आफन्तबीचको पुनर्मिलन पर्यटकीयस्थल माउन्ट कुम्गाङ्गमा हुँदैछ । आगामी २६ अगष्टसम्म जारी रहने सो पुनर्मिलनमा ८० वर्ष भन्दा माथिका बृद्धबृद्धालाई प्राथमिकता दिईएको छ । 

नेपाल क्वाटरफाइनलमा पराजित
१८ औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको पुरुष समूहमा नेपाल क्वाटरफाइनलमा पराजित भएको छ । चाइनिज ताइपेइसँग ३–० ले नेपाल पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

पौडीतर्फ भएको खेलमा दुई नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गरेका छन् । खेलाडी गौरिका सिंह र टीसा शाक्य दुवैले १०० मिटर फ्रि स्टायलमा भाग लिएका थिए । २७ खेलाडी सहभागी उक्त स्पर्धामा गौरिका १८ औँ र टीसा २२ औँ स्थान प्राप्त गरे । 

तेक्वान्दोको गेरोगीतर्फ पुरुष ५८ केजीमुनि नेपालका सागर गुभाजु क्वाटरफाइनलमा पराजित भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्