
ललितपुर- कलङ्कीको जाम हटाउने समाधानका रुपमा हेरिएको कलङ्की–खसीबजार ‘अण्डर पास’ को काम अन्तिम चरणमा पुगेको छ ।
एक÷दुई सातापछि ‘अण्डर पास’ खुला हुने कलङ्की–कोटेश्वर सडक निर्माणमा समन्वय गरिरहेको चक्रपथ सुधार योजनाले बताएको छ । आठ सय मिटर लामो ‘अण्डर पास’ मा दुई तह कालोपत्र गर्न बाँकी रहेको योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिनुभयो ।
कालोपत्र बाँकी रहँदा नै यो खुला गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “सडक छेउमा बोर्ड राख्नेलगायतका केही काम सकाएर एक÷दुई सातापछि खुला हुनेछ ।”
निर्माण कम्पनीले आगामी मङ्सिरसम्ममा कामसक्ने योजना बनाएको छ । आठ लेन सडकमध्ये माथि मुख्य सडकमा चार र सहायक सडकमा पर्ने ‘अण्डर पास’ मा चार लेन छन् । मुख्य लेनमा पनि दुई तह नै कालोपत्रे गर्न बाँकी छ । उहाँ भन्नुहुन्छ, “सडकमा एकातिरको लेन सञ्चालन गरेर अर्कातिर काम गर्दै आएका छौँ ।”