काठमाडौं, ९ फागुन - मधेसी मोर्चाले संविधान संशोधनमार्फत उनीहरूको माग पूरा नभई स्थानीय निकायको निर्वाचन घोषणा गरे अकल्पनीय परिणाम भोग्नुपर्ने धम्की दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल चुनाव घोषणा गर्ने आफ्नो सार्वजनिक प्रतिबद्धताबाट फेरि पछि सरेका छन्, आजको अन्नपुर्न पोस्टमा खबर छ |

प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार सत्ताधारी गठबन्धन माओवादी–कांग्रेस तथा मधेसी मोर्चाका वरिष्ठ नेताबीच भएको तीन घन्टाभन्दा लामो बैठकमा प्रधानमन्त्री दाहालले निर्वाचन गर्नै पर्ने आफ्नो बाध्यतालाई बुझिदिन गरेको आग्रहलाई मोर्चा नेताले अस्वीकार्य चुनौतीका रूपमा लिने धम्की दिएका थिए ।
लगत्तै दाहालले त्यसबारे प्रतिपक्षी एमाले र अन्य दलका नेतासँग परामर्श गरी अर्को एक चरणको वार्ताका लागि मोर्चासँग बस्ने सहमतिसाथ आइतबारको बैठक टुंगिएको थियो । निर्वाचन नहुँदा मधेसमा सीके राउत र अन्यत्र नेत्रविक्रम प्रवृत्ति बढ्ने तथा संविधानका उपलब्धि गुम्नेबारे सचेत हुन मोर्चासँग आग्रह गरे पनि उनीहरूले संशोधनविना कुनै पनि माग स्विकार्न नसक्ने अडान दोहोर्याएका थिए ।