
महेन्द्रनगर -कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आन्दोलनको रापमा छ । १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा प्रहरीले वास्तविक अपराधीलाई बचाउन खोजेको भन्दै व्यापारीहरुले स्वतःस्फूर्त रूपमा बजार–व्यवसाय बन्द गरेका छन् ।
मंगलबारको प्रदर्शनमा प्रहरीले जिल्ला प्रशासन कार्यालय अगाडि रहेका स्थानीयवासीमाथि लक्षित गर्दै अश्रुग्याँस प्रहार गरेपछि त्यसको चर्काे विरोध भइरहेको छ ।
प्रहरीले निर्मला हत्यामा संग्लन रहेको आरोपमा भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेपछि आन्दोलनले नयाँ रूप लिएको छ । प्रहरीले विष्टलाई मुख्य दोषी भनेपछि आन्दोलनको राप झन् बढ्दै गएको छ । प्रहरीले अभियुक्त सार्वजनिक गर्दा स्याबासी पाउनुपर्ने हो तर उल्टै नागरिकले प्रहरी अनुसन्धानमाथि नै प्रश्न खडा गरेका छन् ।
कञ्चनपुर प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले निर्मला हत्याका मुख्य अभियुक्त भनेका दिलिप मानसिक रूपमा स्वस्थ नभएका व्यक्ति हुन् । २०६५ सालमा आफ्ना भिनाजुलाई चिर्पट प्रहार गरेर हत्या गरेपछि करिब १० वर्ष जेल सजाय भुक्तान गरी उनी २०७४ सालको जेठमा छुटेका थिए । राष्ट्रपतिबाट कैद मिनाह पाएर उनी छुटेका थिए । पारिवारिक रूपमा दिलिप गरिब परिवारका सदस्य हुन् । उनी भिनाजुको हत्या अभियोगमा २०६५ मा जेल परेका थिए । जेल सजाय काटेर निस्किएका उनी होटलमा भाँडा माझ्ने, मजदुरी गर्नेलगायत काम गर्दै आएका थिए । भिनाजुको हत्या अभियोगमा जेल बसेर निस्केपछि दिलिप मानसिक रूपमै समस्याग्रस्त रहेका उनका दाजु खडक विष्टले बताए । अत्यन्तै कमजोर शारीरिक अवस्था भएका दिलिपले गाँजा सेवन गरे पनि मदिरापान भने एकदमै कम गर्ने गरेको खन्ना चौराहका उनका साथी दिलिप थापाले बताए ।अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ ।