
काठमाडौं– देशभर बालिका बलात्कार र हत्याका घटना बढेको भन्दै बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन संसदमा आवाज उठेको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकको शून्य समयमा नेकपाकी सांसद राधा ज्ञवालीले संविधान संशोधन गरेर बलात्कारीलाई मृत्युदण्ड सम्बन्धी व्यबस्था गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
‘आज हाम्रो देशमा साना कलिला छोरीदेखि लिएर वयस्क महिलामाथि हत्या बलात्कार जारी छ, आजकाल बलात्कारका घटना नभएको पत्रिका पढ्न पाएकी छैन्,’ पूर्वमन्त्री समेत रहेकी ज्ञवालीले भनिन, ‘संविधानले मृत्युदण्डको व्यवस्था गरेको छैन, तर राजनीतिक सहमतिमा संविधानलाई संशोधन गरेर, नावालिका र छोरीलाई मृत्युदण्डको व्यबस्था गर्नको लागि सरकार समक्ष माग गर्छु ।’
यसअघि प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद उमा रेग्मीले पनि बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन माग गरेकी थिइन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका हत्यारामाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।