
काठमाडौं — अमेरिकाको जर्जिया राज्यमा बस्ने रोय रोट्सले सात दशकअघि हराएको पर्स अहिले आएर भेटेका छन् । पर्ससँगै उनले आवश्यक कागजात पनि फेला गरेका हुन् ।
रोट्स १०० वर्ष पुगिसकेका छन् । उनले पर्स हराएको दिनको सबै कुरा मनमा ताजै राखेका थिए । उनी त्यतिखेर इलेक्ट्रिकल इन्सपेक्टर थिए र उनको काम विमानको जाँच गर्ने थियो ।
पर्स हराएको दिन उनी क्यालिफोर्नियामा थिए । त्यतिखेर दोस्रो विश्वयुद्ध चलिरहेको थियो । सबैजना एक विमानमा चढेका थिए । अचानक उनलाई पर्स हराएको थाहा भयो । उनले विमानमा चढेका सबै व्यक्तिको तलाशी लिए तर भेटेनन् ।
फक्स ५ को रिपोर्टअनुसार, रोट्सको गोजीबाट झरेको पर्स युरोपेली नागरिक एडगर वारेन बर्ड्सले फेला पारे । उनले पर्स फेला पार्दा बेलायतको डर्बीशायरस्थित रोयल एयरफोर्समा काम गर्थे ।
रोट्सको पर्समा ड्राइभिङ लाइसेन्स थियो । त्यसैको आधारमा उनले पर्स तत्कालै फर्काउन सक्थे तर त्यसो गरेनन् ।
बर्ड्सले गलत उद्देश्यका साथ पर्स आफैंसँग राखिरहेका थिएनन् । गलत उद्देश्य हुन्थ्यो भने उनले पर्समा भएको पैसा लिएर त्यसलाई मिल्काइदिन सक्थे । बर्ड्सले पर्स सुरक्षित रूपमा राखे र छोरालाई दिए अनि छोराले आफ्नी छोरीलाई ।
रोट्सलाई बर्ड्सकी नातिनीले पर्स फर्काइन् । बर्ड्सले आफैं किन पर्स नफर्काएका भन्ने रहस्य खुलेको छैन र बर्ड्सले पर्स कसरी फेला पारे पनि खुलेको छैन ।


एजेन्सी