
काठमाडौं – १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीलाई शान्त बनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले झुटो हल्ला फैलाएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आन्दोलन शान्त पार्ने भन्दै बिहीवार दिउँसो ३ बजेदेखि कञ्चनपुर सदरमुकाम रहेको भीमदत्त नगरपालिकाको वडा नम्बर ४ र १८ नमा निषेधाज्ञा (कर्फ्यू) जारी गर्ने बताएको थियो ।
कञ्चनपुर प्रहरीको नेतृत्व गरिरहेका ७ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विक्रम चन्दले सञ्चारकर्मीसँग कुरा गर्दै बिहीवार दिउँसो ३ बजेदेखि शुक्रवार विहान ५ बजेसम्मका लागि कर्फ्यू जारी गरिएको बताएका थिए ।
प्रशासनले कर्फ्यू जारी गरेको भन्ने प्रचार गरेर आन्दोलन मत्थर हुने अपेक्षा लिएको थियो । तर, जिल्ला प्रहरी कार्यालय घेर्न पुगेका आन्दोलनकारी कर्फ्यू आदेश जारी भएको भन्ने सूचनाले झन् उग्र बनेपछि प्रशासन पछि हटेको हो ।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टले ३ बजेदेखि कर्फ्यू जारी गर्ने भनेर छलफल भएको आधारमा बाहिर प्रचार भएको हुनसक्ने बताए ।
‘३ बजेदेखि कर्फ्यू लगाउने भनेर छलफल भइरहेको थियो । सोही अनुसार बाहिर पनि प्रचार भयो होला,’ सहायक प्रजिअ बिष्टले लोकान्तरसँग भने, ‘कर्फ्यू कतिबेलादेखि जारी गर्ने भनेर अहिले पनि छलफल चलिरहेको छ । ठ्याक्कै कतिबेलादेखि शुरू हुन्छ भनेर भन्न सकिने अवस्था छैन ।’