
काठमाडाैं-सरकारले वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा खटिने निजामती र सुरक्षाकर्मीलाई प्रदान गर्ने भत्तामै विभेद गरेको छ ।
मन्त्रिपरिषद् बैठकले २४ सै घण्टा तैनाथ हुने सुरक्षाकर्मीभन्दा निजामती कर्मचारीलाई दैनिक ५ सय रुपैयाँ बढी भत्ता दिने गरी निर्णय गरेको हो ।सुरक्षाकर्मीलाई दैनिक खाजा भत्ताबापत २ सय ५० रुपैयाँ दिने निर्णय गरेको सरकारले सम्मेलनमा खटिने निजामती कर्मचारीका लागि भने ७ सय ५० रुपैयाँ दिने भएको हो ।
यसका लागि सम्मेलनमा खटिने सुरक्षाकर्मीले प्रतिव्यक्ति १ हजार र निजामती कर्मचारीले ३ हजार रुपैयाँ पाउनेछन् ।
“बिमस्टेक सम्मेलनअन्तर्गत ४ दिनका लागि सुरक्षाकर्मीलाई दैनिक २ सय ५० रुपैयाँ र निजामतीलाई ७ सय ५० भत्ता दिनेगरी रकम निकासा गरिएको छ,” प्रधानमन्त्री कार्यालयका अधिकारीले भने, “सुरक्षाकर्मीलाई सरकारले नै दैनिक रासनभत्ता उपलव्ध गराउँदै आएका कारण निजामतीको रकम केही बढी देखिएको हो ।
निजामती र सुरक्षाकर्मीलाई फरक–फरक अनुपातमा भत्ता उपलव्ध गराउने सरकारको यो निर्णयप्रति नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले असन्तुष्टि जनाएका छन्।मात्रिका दाहालले अाजकाे काराेबार दैनिकमा खबर लेखेका छन् ।