
विराटनगर – १ नम्बर प्रदेश सरकारले आगामी पुससम्म अद्यावधिक आवधिक योजना बनाउने भएको छ ।
नियमित बैठकका क्रममा प्रदेश सरकारले बिहीवार योजना बनाउने निर्णय गरेको हो । मु्ख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले १ नम्बर प्रदेशको आवधिक योजना निर्माण तर्जुमा सम्बन्धी अवधारणा पत्रलाई पास गर्ने निर्णय गरेको छ ।
आवधिक योजनामा सरकारको प्राथमिकतामा परेका र १ वर्षीय तथा बहुवर्षीय कार्यक्रम तथा योजनाको विषयमा पुस मसान्तभित्र अद्यावधिक योजना निर्माण गर्ने गरी तयारीका लागि काम शुरू हुने सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।
सरकारले पाँचथर र तेह्रथुमबीचको सुख्खाग्रस्त क्षेत्रको अवस्थाको अध्ययन गर्न सरकारको तर्फबाट कार्यदल बनाउने निर्णय गरेको छ । मन्त्री कार्कीका अनुसार पाँचथर जिल्लाको पश्चिम र तेह्रथुम जिल्लाको पूर्वको सीमानामा रहेको छथर गाउँपालिका र कुम्मायक गाउँपालिकाको सुख्खाग्रस्त क्षेत्रका अवस्था बुझ्न आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङबोको संयोजकत्वमा ५ सदस्य कार्यदल बनाइएको छ ।
कार्यदलका अन्य सदस्यमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको विपद् हेर्ने महाशाखाका प्रमुख, सोही तहका मुख्यमन्त्री कार्यालयका अधिकृत, सोही निर्वाचन क्षेत्रमा रहेका निर्वाचित सांसद र प्रतिपक्ष दलको १ जना सांसद सदस्य रहने गरी कार्यदल बनाउने निर्णय गरिएको मन्त्री कार्कीले जानकारी दिए ।
कार्यदलले १५ दिनभित्र वस्तुस्थिति सहितको प्रतिवेदन सरकारमा पेश गर्नुपर्ने छ । प्रतिवेदनको आधारमा सरकाले आवश्यक निर्णय लिने जनाइएको छ ।