
काठमाडौं — म्यानचेस्टर युनाइटेड क्लबमा प्रशिक्षक जोसे मउरिन्हो र उपाध्यक्ष एड वूडवर्डबीचको तनाव चर्चामा छ । मउरिन्होलाई क्लबबाट बिदा गरिने हल्ला पनि चल्न थालेको छ ।
अनि रियाल मड्रिडका पूर्वप्रशिक्षक जिनेदिन जिदानले मउरिन्होलाई निकालिएमा क्लबमा प्रशिक्षण दिन आफू इच्छुक रहेको बताएको खबर पनि आइरहेका छन् ।
त्यसो त युनाइटेडले जिदानलाई राख्ने कुनै इच्छा नरहेको र मउरिन्होलाई नै जारी राख्ने स्पष्ट पारिसकेको छ ।
मउरिन्होले खासमा आफूले चाहेजस्तो खेलाडी ल्याउन नपाएकाले क्लबका मालिकहरूप्रति रोष प्रकट गरेका थिए । अनि उनले खेलाडीहरूको प्रदर्शन पनि राम्रो नरहेको भन्दै आलोचना गर्ने गरेका छन् । त्यसैले खेलाडीहरू पनि उनलाई खासै मन पराउँदैनन् ।
युनाइटेडका स्टार खेलाडी पल पोग्बाको मउरिन्होसँगको झगडा बाहिरै छताछुल्ल भएको छ । पोग्बाले मउरिन्होका विरुद्ध धेरै कुरा भन्न मन लागेको तर त्यसो भन्दा जरिवाना तिर्नुपर्ने डर रहेको पनि सांकेतिक रूपमा बताए ।
क्लब सम्हालेको तेस्रो वर्षमा मउरिन्होको पुरानै रोग बल्झिएको विश्लेषण पनि हुने गरेको छ । मउरिन्हो जुन क्लबमा पनि तेस्रो सीजनमा समस्या सिर्जना गरेर निस्कने गरेका छन् ।
युनाइटेडलाई आफ्नो प्रशिक्षणको पहिलो वर्षमा दुईवटा ट्रफी दिलाएका मउरिन्होले दोस्रो सीजनमा भने लीगमा दोस्रो स्थान हासिल गर्नेबाहेक कुनै उपलिब्ध दिलाएनन् ।
यस्तो अवस्थामा मउरिन्हो हटेर जिदान आउनु पनि क्लबका लागि वरदान नै हुने तर्क राख्न सकिन्छ ।
जिदानले रियाल मड्रिडमा लगभग साढे दुई वर्ष प्रशिक्षण दिँदा कहिले पनि मउरिन्होको जस्तो झर्कोफर्को र गनगन गरेनन् अनि त्यस क्रममा क्लबलाई नौवटा ट्रफी दिलाए ।
जिदानले मउरिन्हो भन्दा फरक खेलाडीसँग पनि राम्रो सम्बन्ध बनाउने क्षमता राख्छन् । उनी रियाल मड्रिडमा छँदा नै पल पोग्बालाई भित्र्याउन चाहन्थे र उनीहरूले युनाइटेडमा सँगै काम गर्ने अवसर पाएमा क्लबलाई फाइदै हुन्छ ।
जिदानले रियालमा रहँदा आफ्ना सुपरस्टार खेलाडीको मात्र नभई सबैको प्रतिरक्षा गर्ने गरेका थिए । उता मउरिन्होले भने प्रिसीजनमा युनाइटेडको नराम्रो प्रदर्शनको दोष आफ्ना युवा खेलाडीमा थोपरेका थिए ।
त्यसो त रियालमा छँदा जिदानको सम्बन्ध हामेस रोड्रिगेज र ग्यारेथ बेलसँग राम्रो भएन तर उनले कहिले पनि ती खेलाडीको सार्वजनिक आलोचना गरेनन् ।
अनि मउरिन्होप्रति युनाइटेडका प्रशंसकहरूको सबभन्दा ठूलो गुनासो भनेको उनले बढी नै डिफेन्सिभ खेल खेलाए भन्ने छ । बसपार्क रणनीति अर्थात् आफूले गोल गर्ने अनि विपक्षीलाई गोल गर्न नदिने हिसाबमा सबै खेलाडीलाई
डिफेन्समा खटाउने उनको ट्याक्टिक्स रह्यो ।
जिदान भने आक्रामक रणनीतिका लागि प्रख्यात छन् । अघिल्लो सीजनको ला लिगामा उनले आक्रामक खेल खेलाए र त्यसक्रममा डिफेन्समा चाहिँ लापरवाही देखाए । रियालले बार्सिलोनाभन्दा १५ गोल बढी अनि एट्लेटिको
मड्रिडभन्दा २२ गोल बढी खायो ।
जिदानले आफ्ना खेलाडीलाई विपक्षीको भन्दा बढी गोल गर्न प्रेरित गरे र त्यो रणनीतिले च्याम्पियन्स लीगमा चाहिँ काम ग–यो । उनले रियाललाई लगातार तीनपटक च्याम्पियन्स लीग विजेता बनाए र सन् २०१६–१७ को लीगविजेता
पनि बनाए ।
क्लबलाई यत्तिको सफलता दिलाउन उनले खेलाडीसँग गरेको सुमधुर संवाद नै प्रमुख कारण हो । यसमा मउरिन्हो चाहिँ नराम्ररी चुकिरहेका छन् ।
युनाइटेडले आफ्नो खेललाई उत्साहजनक बनाउनका लागि भएपनि जिदानलाई ल्याउनु उचित देखिन्छ । उनले क्लबलाई सबै खाले सफलता नदिलाउलान् तर बोरिङ खेल भने हुन दिने छैनन् ।
डेलीमेलमा प्रकाशित पिट जेनसनको विश्लेषणमा आधारित