
महिला भक्तलाई बलात्कार गरेको अभियोगमा २० वर्षको काराबास सजाय पाएका भारतीय ‘बाबा’ राम रहिमले २० किलो तौल घटाएका छन् ।
उनलाई हरियाणा राज्यको रोहतक जेलमा राखिएको छ ।
दिनहुँ गर्ने ब्यायाम र साधारण भोजनका कारण यसरी उनको तौल घट्न पुगेको हो ।
जेल प्रशासनले उनलाई खानाको रुपमा रोटी र दाल दिने गरेको छ भने कहिलेकाहीँ मिठाइको पनि व्यवस्था गर्ने गरिएको छ । यस्तै राम रहीमले जेलभित्रै रहेको जमिनमा काम गर्नुका साथै उचित रेखदेखको गर्ने जिम्मा पनि लिएका छन् ।
जतिबेला उनलाई अदालतले जेल सजाय सुनाएको थियो त्यतिबेला १०४ किलो तौल रहेका उनी अहिले ८४ किलो भएका छन् । हाइ प्रोफाइल कैदी भएका कारण ५१ वर्षीय राम रहीमलाई विशेष सेलको व्यवस्था गरिएको छ ।
जहाँ अन्य तीन कैदीहरु उनीसँगै रहेका छन् । यद्यपी उनको सेलमा उच्च सुरक्षा अपनाइएको छ । अरु कैदी र विचाराधीन कैदीहरु त्यहाँ जान पाउँदैनन् । हालै जेलबाट रिहा भएका केही कैदीले बताएअनुसार राम रहीमले भीआईपी सुरक्षा लिँदै आएका छन् । तर जेल प्रशासनले भने यो कुराको अस्वीकार गर्दै आएको छ ।
जेलका एक उच्च अधिकारीले बीबीसीलाई बताएअनुसार उनको लामो र कालो उनको दाह्री अहिले फुल्न थालेका छन् । दिउँसोको समयमा उनले जेल परिसरमै सागपात लगाउनुको साथै त्यसको रेखदेखमा समय बिताउने गरेका छन्। उनले भने– उनलाई जेलको जीवन शैलीमा आफूलाई ढाल्न केहि समय लागेको थियो । अहिले भने घुलमिल भइसकेका छन् । उनले गर्मीको समयमा जेलमै एसीको समेत माग गरेको भएपनि हरियाणा जेल प्रशासनको नियमका सीमाका कारण अनुमति नपाएको बताइएको छ ।
जेलका अधिकारीहरु भन्छन्– नियमित कैदी र उनको प्रोफाइल अनुसार उनी आइतबार र सरकारी छुट्टीबाहेक बागबानीमा काम गर्छन् । जसको ज्याला रु २० दिइन्छ । अहिदलेसम्म उनले ६ हजार कमाइ भइरहेको छ । राम रहीम बिहान ६ बजे उठ्छन् भने त्यसपछि चिया पिउँछन् । त्यसपछि उनी कसरतका साथै पूजापाठ गर्छन् । त्यसपछि नास्तामा ८ बजे पाउरोटी र मौसमी फल लिने गर्छन् ।
दिउँसो एक बजेसम्म उनी श्रममा खटिन्छन् । त्यसपछि दाल रोटी खानाको रुपमा खाएपछि उनी साँझ ५ बजेसम्म जेलमै आराममा हुन्छन् । साँझ केही कैदीहरुबीच भेटघाटको अनुमति भएपनि रामरहीम किताव बढ्न र कबिता लेख्नमा तल्लीन रहन्छन् ।