१८ असार २०८३, बिहीबार

निर्दोष बालकको छातीमा गोली ठोक्ने अधिकार प्रहरीलाई कसले दियो ?

भदौ १०, २०७५
निर्दोष बालकको छातीमा गोली ठोक्ने अधिकार प्रहरीलाई कसले दियो ?

गूगल सर्चभन्दा गूगल ब्वाइको भर परेर होला, अन्तर्वार्ताहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले हचुवाका भरमा हावादारी कुरा गर्नुहुन्छ । हलगवाडा चोकमा रहेको चिया पसलमा हल्लाखल्ला गर्दै चिया पिउने धनजिते हवल्दारले जस्तो कुरा गरेर देश बन्दैन । यहाँ जनता पनि निकै गम्भीर चेतना साँचेर बाँचिरहेकाछन् । भनाइको अर्थ– अरु जेसुकै भएपनि कम्तिमा बलात्कारको मामिलामा प्रधानमन्त्री जागरुक भैदिए हुन्थ्यो भन्ने हो । 

प्रधानमन्त्री ओलीज्यूलाई बा.. बा.. भन्ने आसेपासेभन्दा बलात्कारको पीडामा आमा.. आमा.. भन्दै चिच्चाइरहेका कलिला मुनाहरूको माया लाग्छ कि लाग्दैन होला! थाहा छैन । ती मान्छेहरू जसले बालुवाटारलाई कमाइ खाने भाँडो बनाएका छन्, उनीहरूप्रति गुनासो होइन । गुनासो यो देशको 'हेड अफ स्टेट'प्रति हो । गुनासो यो देशको 'चेन अफ कमान्ड'प्रति हो । अनि गुनासो तिनीहरूप्रति हो, जो रक्षक बन्नुपर्नेमा भक्षक बनेका छन् ।

गृहमन्त्री रामबहादुर थापा 'बादल'ज्यूले गृह मन्त्रालय आफैं चलाएका छन् कि अरुले चलाएका छन्  ? अब त्यो महसुस गर्ने बेला आएको छ । शुरूमा बादलज्यूको जुन लय थियो, त्यो लयले गति पकड्न सकेन । लयमा अल्पबिराम लाग्यो । गृहमन्त्री बादलज्यूका चटकेहरू जो आफूलाई स्वयं गृहमन्त्रीसरह ठान्छन्, तिनीहरूले पनि बादलको लयलाई 'डिस्टर्ब' गरेका छन् । प्रहरीले जे भन्यो त्यो बादलले मान्ने होइन, बादलले जे भन्यो त्यो प्रहरीले मान्ने हो ।

ओली सरकारको किन आलोचना बढ्यो ? आखिर यो ओली सरकार हो कि गोली सरकार हो, भेद छुट्याउन गाह्रो छ । सत्य कुरा यो हो कि, बालुवाटार केही थान बुख्याचाँहरूको घेराबन्दीमा छ । ओलीज्यूका आँखाहरूलाई बन्देज लगाउने र चियापत्तिमा समेत कमिसन हसुर्ने जत्था छ त्यहाँ ।  बालुवाटारभित्र ओलीज्यू मात्र प्रधानमन्त्री छैनन्, त्यहाँ सयौं प्रधानमन्त्री छन् । यो देश सयौं प्रधानमन्त्रीले चलाइरहेका छन् ।

न्याय माग्दा गोली !

कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयका कुचिकार हुन्, वीरबहादुर खुना । खुना बिहीवार बिरामी भएपछि काममा जान सकेनन् । आफ्नो बुवालाई काम सघाउन विद्यालयको पढाई नै छाडेर १३ वर्षीय छोरा शनी खुना नगरपालिका आए । कार्यलय सरसफाइ गरे । तर अब उप्रान्त बुवालाई सहयोग गर्न नगरपालिकाको कार्यलयमा जाने छैनन्, शनी खुना ।

शुक्रबार प्रहरीको गोली लागेर उनको अकालमै मृत्यु भएको छ । प्रहरीले भीड तितरबितर गर्न भन्दै चलाएको गोली शनी खुनालाई लागेको थियो । दिवंगत शनीको दोष यत्ति थियो– बलात्कारीलाई कारवाही होस् । सत्यतथ्य छानबिन होस् । न्यायको माग थियो । यस्तो माग त को बालक, को महिला, को बुढापाका सबैले गरी नै हाल्छन् । यसबारे स्थानिय प्रहरी बेखबर थियो ?  

शान्तिपूर्ण नाराबाजीमा संयम हुने भनेको सरकार नै हो । स्थानीय प्रशासन संयम हुने हो । जनताको कर खाएर जनतासँग पैंठेजोरी खेल्ने काम तिनको होइन । बरु आफू मर्ने तर जनता जोगाउने काम हो तिनीहरूको । तर आत्मरक्षाको नाममा गोली चल्यो । आत्मरक्षा बालबालिकाको पनि हुन्छ कि सुरक्षाफौजको मात्र  ? प्रहरीलाई निर्दोष बालकको छातीमा गोली बर्साउने अधिकार कसले दियो ? न्याय माग्दा गोली दिने हो ?

प्रहरीको काम दोषी उम्काउने होइन । प्रहरीको काम नक्कली अभियुक्त खडा गर्ने पनि होइन । प्रहरीको काम जघन्य अपराधलाई मिलापात्र गराएर टुंगाउने पनि होइन । प्रहरीले त दोषी पत्ता लगाउने हो । घटनास्थलको सत्यतथ्य प्रमाण अदालतसामु पेश गर्ने हो ।

एउटा किस्सा छ, मिति र स्थान त ठ्याक्कै याद भएन । प्रहरीको गोलीले चिनियाँकाजीको हत्या हुँदा तत्कालीन गृहमन्त्री बीपी कोइरालाले पदबाट राजीनमा दिएका थिए । हामी विदेशका थुप्रै देशहरूमा हेर्छौं, सानो घटना घट्यो भने नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिने प्रचलन छ । वास्तवमा भन्ने हो भने यतिखेरसम्म गृहमन्त्री रामबहादुर थापा बादलज्यूले राजीनामा दिनुपर्ने हो । नैतिकताका आधारहरू धेरै नै थिए ।

राजीनामा दिनुपर्ने केही नैतिकताका आधारमध्ये बलात्कारका घटनाका मात्रै विषय जोडौं । यो देशमा बलात्कार महामारी रोगजस्तो फैलिएको छ । तर नियन्त्रणका लागि भनेर कुनै प्रभावकारी कदम चालिएको छैन । गृह प्रशासन नै बेखबरजस्तो छ ।

बलात्कारका पछिल्ला आँकडा हेरौं– भदौ ८ गते रूपन्देहीमा ७ वर्षकी बालिका बलात्कार शिकार भइन् । साउन १७ गते टीकापुरमा १३ वर्षकी, असार ३० गते अछाममा ८ वर्षकी, असार ५ गते बझाङमा १३ वर्षकी, असार ११ गते महोत्तरीमा १३ वर्षकी र कपिलवस्तुमा ६ वर्षकी, असार २२ गते काठमाडौंमा १२ वर्षकी, साउन २३ गते नवलपरासीमा साढे ७ वर्षकी, भदौ ६ गते काठमाडौंमा १३ वर्षकी, असार गते १८ सुर्खेतमा ११ वर्षकी बालिका बलात्कृत भए ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको त बलात्कारपछि हत्या नै भयो । सोहीकारण कञ्चनपुर आन्दोलित छ । 

धैर्यता गुमाउँदै प्रहरी कमान्डर 

आत्मरक्षा भनेको के हो ? के सडकमा रहेका आन्दोलनकारीसँग अत्याधुनिक हतियार थियो ? कसको रक्षाका निम्ति कसम खाएका थिए सिपाहीहरूले ? नेपालमा प्रहरीले भीड नियन्त्रणका लागि आवश्यकताभन्दा धैरै बल प्रयोग गर्छ । सामान्य अवस्थामा पनि आत्मरक्षाका निम्ति अग्रसर हुन्छन् ।  जनतालाई क्षति पुगोस्, तर आफूलाई केही नहोस् भन्ने ठान्दछन् । यदि त्यसो हो भने आत्मरक्षाको अवस्थामा पुगेको कञ्चनपुरमा प्रहरीतर्फ कतिजना मरे ?

प्रहरीले रचनात्मक तरिकाले भीड नियन्त्रण गर्ने आक्रोशित समूहलाई कन्भिन्स गर्ने क्षमता गुमाउँदै गएको छ । कमान्डरले धैर्यता र आत्मविश्वास गुमाउँदै गएको समेत प्रतित हुन्छ । आन्दोलनलाई मत्थर पार्ने कयौं विधि-उपायहरू छन् । गृहमन्त्री, प्रधानमन्त्री आफैं आन्दोलन भइराखेको स्थानमा पुगेर जनतालाई कन्भिस गर्न सक्थे । यति काम गर्दा कोही सानो हुँदैन । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले यस्तै काम गर्दा उनी कहिल्यै सानो भएनन् ।

प्रहरीले लाठीचार्ज, पानीको फोहरा, प्लास्टिकको गोली, हवाइफायर, घुँडामुनि गोली, त्यसपछि मात्र गोली चलाउनुपर्ने हो । गोली भनेको अन्तिम अवस्थामा चलाउने हो । माथिका यी सबै उपाय अपनाउँदा पनि आन्दोलन हिंसात्मक हुँदै गयो भने प्रहरीले गोली चलाउन सक्छ । यसका लागि राज्यको के कति क्षति भयो ? त्यो मूल्याङ्कन हुन्छ । के प्रहरी चौकी जलाइए ? के प्रहरीका सवारी साधन जलाइए ? तर कञ्चनपुरको स्थिति यो हदसम्मको होइन । 

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले कञ्चनपुरमा प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको बताएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले शुरूमा केही सेल अश्रुग्यास प्रहार गरेको थियो । तर आक्रोशित भीड प्रहरीमाथि जाइलागेपछि हवाइ फायर गर्नुपरेको उनको भनाइ छ । प्रवक्ता थापाका अनुसार 'प्रहरीले आत्मरक्षाका लागि हवाइफायर गर्दा एक किशोरको ज्यान गएको हो ।' तर प्रहरीको के कति क्षति भयो र आत्मरक्षा गर्नैपर्ने स्थिति आयो भन्ने कुरा खुलाएका छैनन् ।

के आन्दोलनकारी हतियार बोकेर आएका थिए ? ढुङ्गाको बदला गोली किन ? हत्याको बदला कदापी हत्या हुन सक्दैन । त्यो सडकको माग बलात्कारी हत्यारालाई कारवाही हुनुपर्‍यो भन्ने थियो । त्यो कुनै कमिसन खानका लागि गरिएको ठेक्कापट्टाको आन्दोलन थिएन । गोली त आन्दोलनको प्रकृति हेरेर पनि चल्ने होला । यो गणतन्त्रिक मुलुकमा चेलीबेटीहरूको बाँच्न पाउने अधिकारको माग राख्दा नाबालकको छातीमा गोली बर्साउने अधिकार कसले दियो ?

बुलेटकोको होइन ब्यालेटको गणतन्त्र हो यो । शान्तिपूर्ण आवाजहरू सडकमा राख्न मज्जाले पाइन्छ । मज्जाले धर्ना, जुलुस गर्न पाइन्छ । यसैका निम्ति राज्यव्यवस्था परिवर्तन गर्ने भनेको हो । होइन भने त पञ्चायती व्यवस्था नै काफी थियो । राजाको शासन नै काफी थियो । ती व्यवस्थाले जनताको अधिकार कुण्ठित गरेका कारण न गणतन्त्रका निम्ति आन्दोलन भएका थिए । लडाइँ भएको थियो । सडकमा नाराबाजी गरेकै कारण, न्यायका लागि आवाज उठाएकै

कारण जनता मार्न पाइँदैन । मौलिक हक अधिकारका साथमा मानवअधिकारको पूर्ण प्रत्याभूति हुने समाजवाद ल्याउने भन्या होइन र ?

शंकाको घेरा

विभिन्न मिडियामा आएको खबर अनुसार निर्मला पन्त किताब लिनका लागि जाने गरेको घर दुईतले छ । बुवाआमा दार्चुला बस्ने गरेकाले त्यो घरमा तिनका छोरीहरू रोशनी, आँचल र बबिता बम मात्रै बस्थे । रोशनी निर्मलाकी साथी थिइन् । उनी १८ वर्षकी भइन् । बबिता भने सानै छिन् । स्थानीय बासिन्दाका अनुसार त्यो घरमा सधैं दुईजना केटा आउने, जाने गरिरहन्थे । 

ती केटाहरू कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा रहेछन् । उनीहरू त्यो घरमा किन आउँथे भन्ने कुरा रहस्यमै छ । 

तर फितलो अनुसान्धन गरिरहेको प्रहरीले २५ दिनसम्म पनि निर्मला किताब लिन भनेर गएको सो घरका घरपति र त्यहाँ आवतजावत गरिरहने एसपीका छोरा र मेयरका भतिजामाथि अनुसन्धान गरेको छैन । मानसिक रूपमा बिचलित व्यक्तिलाई बलात्कारीको पगरी किन गुथायो त प्रहरीले ? निर्मलाको बलात्कार उखुबारीमा नभएको पनि हुनसक्छ । भेद खुल्ने डरले निर्मलालाई मारेर अन्तै मारेर शवलाई उखुबारीमा लगेर छाडिएको हुन सक्छ ।

स्थानीयवासीको माग छ– निर्मला पन्तको बलात्कारमा एसपीका छोरा र मेयरका भतिजा संलग्न भएपनि नभएपनि शंकास्पद् भएकाले छानबिन हुनुपर्‍यो । यति मात्र होइन, निर्मला गएको घरमा बस्ने आँचल र बबिता बममाथि पनि अनुसन्धान हुनुपर्‍यो ।

छोरी हराएपछि उजुरी गर्न जाँदा प्रहरी अधिकारीहरूले 'पोइला गइ होली, भोलि खोजिदिउँला । केही दिन रमाइलो गरेर आइहाल्छन् नि भनेका रहेछन् । शायद त्यो समयमा उनीहरू माथिको आदेशअनुसार शव व्यवस्थापनको तानाबाना बुन्दै पो थिए कि ! तर माथिको आदेशसँग जनता डगमगाउने छैनन् । जनताले शंका गरेका व्यक्तिउपर छानबिन हुनैपर्छ । ओली सरकारले पनि जनतालाई न्याय दिने अवसर गुमाउनु हुँदैन । 

बलात्कारको मुद्दा ओझेल पारेर वास्तविक दोषीलाई उम्काउन खोजेको कञ्चनपुरका स्थानीयवासीको बुझाइ छ । प्रहरीको काम दोषी उम्काउने होइन । प्रहरीको काम नक्कली अभियुक्त खडा गर्ने पनि होइन । प्रहरीको काम जघन्य अपराधलाई मिलापात्र गराएर टुंगाउने पनि होइन । प्रहरीले त दोषी पत्ता लगाउने हो । घटनास्थलको सत्यतथ्य प्रमाण अदालतसामु पेश गर्ने हो । चोकचोकमा चोकचोकमा बन्दै हिँड्ने होइन । प्रहरीको काम उजुरी लिन आनाकानी गर्ने पनि होइन ।

स्थानीयवासीको माग छ– निर्मला पन्तको बलात्कारमा ती केटाहरू संलग्न भएपनि नभएपनि शंकास्पद भएकाले छानबिन हुनुपर्‍यो । उनीहरू माथि अनुसान्धन हुनुपर्‍यो । यति मात्र होइन, निर्मला गएकी घरमा बस्ने आँचल र बबिता बममाथि पनि अनुसन्धान हुनुपर्‍यो । जरैदेखि अनुसान्धन प्रक्रिया प्रारम्भ गर्नका लागि सबैभन्दा पहिले यो काम हुनु जरुरी देखिन्छ ।

अन्तिममा, शान्तिपूर्ण प्रदर्शन जनताको मौलिक अधिकार हो कि होइन ? चित्त नबुझेको कुरा जनताले सडकमार्फत् अभिव्यक्त गर्न पाउँछन् कि पाउँदैनन् ? यो मुख्य प्रश्न बनेको छ । वामपन्थी सरकार छ, त्यो पनि जनताको न्याय तथा अधिकारका लागि लडेका मानिसहरूको सरकार । तर दिनदहाडै आत्मरक्षाको नाममा जनताका निर्दोष छोराको छातीमा किन गोली हिर्काइन्छ ? यसबारे ओली सरकारको स्पष्ट धारणा सार्वजानिक होस् । 

अहिले निर्मला र उनको परिवारलाई चाहिएको न्याय हो । न्याय खोज्न सडकमा गएका हुन्, जनताहरू । त्यो पनि चेलीबेटीहरू सुरक्षित तरिकाले बाँच्न सकुन् भनेर । गोली खोज्नका लागि गएका होइनन् ती । भीम रावलजस्ता नेताहरू संवेदनहीनताको हद नै नाघेर बलात्कार र हत्यालाई छुद्र राजनीतिक चस्माले नहेर । पीडित परिवारको आँसु हेर । पीडितलाई झन् आक्रोशित नबनाऊ ।

अनि कांग्रेसका मनुष्यहरू निर्मला पन्तको रगतको आहालमा चारतारे झण्ड गाड्न नखोज ।

salt training

कमेन्ट गर्नुहोस्