
काठमाडौं, ९ फागुन — काभ्रेको बनेपा स्थित ज्ञानकुञ्ज उच्च माविको होस्टलमा सुतेको विद्यार्थी मृत अवस्थामा फेला परेपछि तनाब सिर्जना भएको छ ।
एसएलसी परीक्षाको तयारीमा रहेका १७ वर्षी विद्यार्थी कृष्णराम सार्की (पुर्कोटी)को होस्टलमा सुतिरहेको अवस्थामा ज्यान गएको हो ।
सोमवार विहान उनी होस्टलमा मृत अवस्थामा फेला परेका थिए । गए राति ११ बजे सम्म अध्ययन गरेर सुतेका उनी विहान मृत अवस्थामा फेला परेका हुन् ।
विद्यालयका अनुसार उनी राति अत्यन्तै घुरेका थिए । त्यसपछि उनलाई अरु विद्यार्थीले सजिलो बनाइदिएका थिए ।
तर उनी विहान उठेनन् । विहान नउठेपछि उनलाई विद्यार्थीले बोलाए, जिस्काए, चिमोटे । यति गर्दा पनि नउठेपछि उनलाई हस्पिटल पुराइएको थियो । हस्पिटल पुग्दा उनको प्राण गइसकेको थियो ।
होस्टलमा सुतेको बच्चाको निधन भएपछि उनका अभिभावक तथा गाउँलेहरूले विद्यालय तोडफोड गरेका छन् । काभ्रेका मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले तोडफोडबाट विद्यालय क्षतिग्रस्त भएको बताए ।
तोडफोडलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयले २ सय प्रहरी परिचालन गरेको थियो । त्यस क्रममा तीन जना स्थानीय र तीन जना प्रहरी घाइते भएका छन् ।
प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको भएपनि घटना थप उत्तेजक बन्न सक्ने डरले छोडेको छ । अहिले जिल्ला प्रहरी कार्यालयमा सो विषयमा छलफल भइरहेको छ ।
बच्चाका आफन्तले विद्यालय र शिक्षकहरुका नाममा किटानी जाहेरी सहित कर्तब्य ज्यानको मुद्दा लिएर गएका छन् । तर सो घटनामा कर्तब्य ज्यान नदेखिएपछि प्रहरीले स्थानीयसँग छलफल गरिरहेको छ ।
काभ्रेका प्रहरी निरीक्षक अनिल कुमार घिमिरेले बच्चाका अभिभावकहरू आक्रोशमा रहेको र उनीहरूलाई सम्झाउने काम भइरहेको बताए । उनका अनुसार अभिभावकहरूले विद्यालयमा ठूलो क्षति पुग्ने गरि आक्रमण गरेका छन् ।