३१ जेठ २०८३, आइतबार

बीपी राजमार्ग सुचारु गर्न वैकल्पिक ट्रयाक बन्दै, आवतजावत खुल्ने

कात्तिक २०, २०७४
बीपी राजमार्ग सुचारु गर्न वैकल्पिक ट्रयाक बन्दै, आवतजावत खुल्ने
काठमाडौं, ९ फागुन — गएराति जमिन भासिएपछि भत्किएको बीपी राजमार्गको शीतलपाटी सडकखण्ड बन्न समय लाग्ने भएको छ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले भासिएको ठाउँकै सडक बनाउन केही समय लाग्ने भएपनि हाललाई वैकल्पिक बाटो तयार गर्न लागिएको जानकारी दिए ।

उनले बीपी राजमार्गभन्दा माथि रहेको ट्रयाक खोलेर सडक भत्किएपछि अलपत्र परेका यात्रुलाई गन्तव्य पठाउने तयारी भएको बताए ।

उनका अनुसार बीपी राजमार्ग बन्नुपहिले त्यहाँ एउटा ट्रयाक खोलिएको थियो । तर बीपी राजमार्ग बनेपछि सो ट्रयाकमा काम चाहिँ भएको थिएन ।

खोलिएको ट्रयाक पूरा गर्न बाँकी ठाउँमा अहिले काम भइरहेको उनले बताए । उनका अनुसार सो ठाउँमा एक सयजना नेपाली सेनाका जवान र दुईवटा एक्स्क्याभेटरले काम गरिरहेका छन् ।

‘अबको दुई घण्टापछि यात्रुहरूलाई गन्तव्यमा पठाउँछौं,’ कार्कीले लोकान्तरसँग भने, ‘भत्किएको ठाउँकै सडक बन्न त लामो समय लाग्छ होला ।’

सिन्धुलीको शीतलपाटी गाविस–९ मा पर्ने बीपी राजमार्गको खण्ड गएराति भासिएको थियो । भूकम्पले जग खलबल्याइदिएको कारणले सडक भत्किएको हुनसक्ने उनले बताए ।

सुनकोशी नदीको माथिपट्टिको पहाडमा २२ मिटर अग्लो पर्खाल लगाएर निर्माण गरिएको बाटो दबेको हो ।
गएराति २० मिटर मात्रै भत्किएको सो बाटोको पहिरो अहिले ३७ मिटर पुगेको छ । ‘अहिले त्यहाँबाट मोटरसाइकल पनि छिर्नसक्ने अवस्था छैन,’ कार्कीले भने, ‘धूलेपहिरो गएको छ ।’

सरकारी अधिकारीले भूकम्पको कारणले मात्रै राजमार्ग भत्किएको बताएपनि सर्वसाधारणहरूले चाहिँ बाटो प्रयोगमा अपनाइएको असावधानीले सडक भत्किएको बताएका छन् ।

बाटो भत्किएको ठाउँको सिधा तल पानी रहेको र त्यहाँ बगर नभएकोले बालुवा उत्खननको कारणले बाटो नभत्किएको कार्कीले बताए ।

सडकमा दश टनभन्दा ठूलो गाडीसमेत सो राजमार्गमा गुडाउने गर्दा सडक भासिएको स्थानीयले बताएका छन् ।
दुई वर्षअघि निर्माण कार्य सम्पन्न भएपछि राजमार्ग प्रयोगमा आएको थियो । त्यसबेला सुनकोशी नदीको ठीक माथिको भागमा पर्ने राजमार्गमा १० टनभन्दा ठूला गाडी गुडाउन नहुने प्राविधिक मूल्याङ्कन भएको थियो ।

सिन्धुलीको चियाबारीदेखि नेपालथोकसम्मको करीब ६० मिटर सडकमा ठूला गाडी गुडाउन नहुने मूल्याङ्कन भएको थियो । यातायात व्यवस्था कार्यालयले पनि १० टनभन्दा ठूला गाडीलाई राजमार्गमा गुड्नको लागि अनुमति दिएको छैन ।

तर सो सडकमा १० टनभन्दा ठूला गाडीहरू गुडेका छन् । प्रमुख जिल्ला अधिकारी कार्कीले अत्यन्तै आवश्यक अवस्थामा चाहिँ पटके इजाजत दिएर ठूला गाडी गुडाउन दिइएको बताए ।

‘जलविद्युत् परियोजना, अरू विकास निर्माण परियोजनाका गाडीहरूलाई चाहिँ सडकमा गुड्न दिइएको थियो,’ उनले भने, ‘त्यो अत्यन्तै थोरै संख्यामा थियो, रातिमा मात्रै गाडी गुडेका थिए ।’ तर अरू सामान्य अवस्थामा चाहिँ ठूला गाडीलाई गुड्न नदिइएको उनले बताए ।

भूकम्प गएको २२ महिनापछि सो सडक भत्किएको हो । भूकम्पले थर्काएको जमीनमा गाडीको थर्को समेत मिसिएपछि सडक भत्किएको हुनसक्ने अुनमान गरिएको छ ।

सडक प्रयोगमा सावधानी अपनाएको भए प्रयोगमा आएको दुई वर्षमै सडक भत्कने थिएन । काठमाडौंदेखि तराईका जिल्लालाई जोड्ने वैकल्पिक राजमार्गको रूपमा सो सडकलाई हेरिएको छ ।

जापानले उच्च प्रविधि अपनाएर सडक निर्माण गरेको थियो । सामान्य अवस्थामा एक किलोमिटर सडक बन्नको लागि चार करोड लाग्ने भएपनि सो सडको निर्माणमा चाहिँ प्रतिकिलोमिटर लगभग १८ करोड खर्च भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्